यसपालि शरदयामको आकाशमा देखिनेछन् यी ५ खगोलीय दृश्य

सुपरमुन

तस्बिर स्रोत, Getty Images

Published
पढ्ने समय: ४ मिनेट

उत्तरी गोलार्धमा शरदऋतु सुरु भएसँगै रातहरू लामो हुँदै जान्छन्। यसले मानिसहरूलाई बाहिर निस्केर रातको आकाश अवलोकन गर्ने राम्रो मौका दिन्छ।

आगामी महिनाहरूमा आकर्षक उल्कावर्षादेखि चम्किला तारापुञ्जसम्मका खगोलीय दृश्यहरू देख्न सकिनेछ। यी दृश्यहरूको आरम्भ प्लाअडिज तारापुञ्जबाट हुनेछ।

त्यसपछि अक्टोबरको अन्त्यतिर अरिअनिड उल्का वर्षा, नोभेम्बरमा ग्रहहरूको परेड, लीअनिड उल्का वर्षा र लगातार सुपरमुनहरू देख्न सकिनेछ।

प्लाअडिज तारापुञ्ज

प्लाअडिज तारापुञ्ज

तस्बिर स्रोत, Getty Images

शरदमा रातहरू लामो हुँदै जाँदा आकाशमा एउटा तारापुञ्ज स्पष्ट रूपमा देखिन थाल्छ।

'प्लाअडिज' तारापुञ्जलाई सात बहिनी ताराहरू पनि भनेर चिनिन्छ। नेपाल र भारतमा यसलाई कृतिका तारापुञ्ज पनि भनेर चिनिन्छ।

यो नयाँ तारापुञ्ज पृथ्वीभन्दा ४४० प्रकाश वर्ष टाढा छ। यसमध्ये छवटा तारा मात्रै नाङ्गो आँखाले देख्न सकिन्छ। दूरदर्शक यन्त्र वा टेलिस्कोप प्रयोग गर्दा अझै धेरै ताराहरू देख्न सकिन्छ।

शरद ऋतुका साँझहरूमा पूर्वी आकाशतर्फ हेर्दा वृष तारामण्डलभित्र यो तारापुञ्ज सजिलै देख्न सकिन्छ।

अरायनिड उल्का वर्षा

अरायनिड उल्का वर्षा

तस्बिर स्रोत, Getty Images

अरायनिड उल्का वर्षा अक्टोबरको सुरुदेखि नोभेम्बरसम्म सक्रिय रहन्छ। अक्टोबर २१ आसपास यो सबैभन्दा सक्रिय हुन्छ।

प्रत्येक वर्ष दुई पटक पृथ्वी 'ह्याली' धूमकेतुले छाडेका धुलो र अवशेषको बाटो हुँदै फन्को मारिरहेको हुन्छ।

ती सूक्ष्म कणहरू उच्च गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा तातेर प्रकाशरेखा उत्पन्न गर्छन्, जसलाई हामी उल्काका रूपमा देख्छौँ।

यो उल्का वर्षा अरिअन तारामण्डलबाट निस्किएजस्तो देखिने भएकाले यसको नाम अरायनिड राखिएको हो।

यसलाई राम्रोसँग हेर्न कृत्रिम प्रकाश कम भएको अँध्यारो स्थान रोज्नुपर्छ र आँखालाई अँध्यारोमा अनुकूल हुन केही समय दिनुपर्छ।

नोभेम्बरको ग्रह परेड

नोभेम्बरको ग्रह परेड

तस्बिर स्रोत, Getty Images

बुध, शुक्र, मङ्गल र बृहस्पतिग्रह नोभेम्बर १४ आसपास बिहान हुन लाग्दा आकाशमा एकैसाथ देखा पर्छन्।

यसलाई ग्रहहरूको परेड भनिन्छ।

सूर्योदयअघि चारै ग्रह क्षितिजमाथि हुनेछन्। त्यसमध्ये केही ग्रह पहिचान गर्न सजिलो र केही पहिचान गर्न गाह्रो हुन्छ।

बुध ग्रह क्षितिज नजिक र उदाउँदै गरेको सूर्यको प्रकाश नजिकै हुने भएकाले हेर्न कठिन हुन सक्छ।

तर शुक्र र बृहस्पति रातको आकाशका सबैभन्दा चम्किला हुने भएका कारण सजिलै देखिनेछन्।

लीअनिड उल्का वर्षा

लीअनिड उल्का वर्षा

तस्बिर स्रोत, Getty Images

नोभेम्बरको मध्यपछि अर्को उल्का वर्षा देखा पर्छ। लीअनिड उल्का वर्षा नोभेम्बर १७ आसपास सबैभन्दा राम्रो देखिन्छ।

लीअनिड उल्काहरू पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा प्रति सेकेन्ड करिब ७० किलोमिटरको गतिमा यात्रा गर्ने भएकाले तिनीहरू पृथ्वीबाट देखिने सबैभन्दा तीव्र गतिका उल्कामध्येमा पर्छन्।

अनुकूल मौसम र अँध्यारो आकाशमा प्रतिघण्टा १० देखि १५ वटा लीअनिड उल्का देख्न सकिन्छ। वास्तविक सङ्ख्या भने मौसम, प्रकाश प्रदूषण र चन्द्रमाको चमकमा निर्भर हुन्छ।

यी उल्काहरू सिंह अर्थात् 'लिओ' तारामण्डलबाट निस्किएजस्तो देखिने भएकाले तिनको नाम लीअनिड राखिएको हो।

यो उल्का वर्षा हेर्ने सबैभन्दा उपयुक्त समय सिंह तारामण्डल आकाशको माथिल्लो भागमा पुगेको समय सामान्यतया मध्यरातपछि र बिहान सूर्योदयअघि हुन्छ।

बीभर सुपरमुन

बीभर सुपरमुन

तस्बिर स्रोत, Getty Images

नोभेम्बरको पूर्णिमालाई 'बीभर मुन' भनिन्छ। यो नाम बीभर नामको जनावरबाट राखिएको हो। यिनीहरू जाडो यामअघि आफ्नो वासस्थान तयार पार्ने र खानेकुरा सञ्चय गर्न सक्रिय हुन्छन्।

यस वर्ष नोभेम्बर २४ अर्थात् तिहारपछिको पूर्णिमाका दिन चन्द्रमा सुपरमुन हुने छ। अर्थात् पूर्णिमाका दिन भन्दा केही नजिक देखिने छ।

पूर्णिमाको चन्द्रमा पृथ्वीबाट नजिक हुँदा त्यसलाई सुपरमुन भनिन्छ। यस्तो अवस्थामा चन्द्रमा सामान्यभन्दा केही ठूलो र उज्यालो देखिन्छ।

यसपालि सन् २०२७ को फेब्रुअरीसम्मका पूर्णिमाका दिन सुपरमुन देख्न सकिन्छ। नोभेम्बरको सुपरमुन लगातार चार सुपरमुनमध्ये पहिलो हुनेछ।

दुर्लभ खगोलीय दृश्यहरूको राम्रोसँग आनन्द लिनका लागि राती आकाशको अवलोकन गर्न निस्कनुअघि मौसमको अवस्था जाँच गर्न नबिर्सिनुहोला।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।