उनीहरू पुराना मिल्ने साथी थिए, डीएनए परीक्षणपछि दिदी-बहिनी पाइए

मीना-मीनल

तस्बिर स्रोत, Reuters

    • Author, गीता पाण्डे
    • Role, महिला मामिला सम्पादक, भारत
  • Published
  • पढ्ने समय: ४ मिनेट

उनीहरूको कथा ठ्याक्कै बलिवूड चलचित्रको जस्तो छ।

भारतमा जन्मिएर उमेरले ४० को दशकमा पुगेका दुई महिला जसलाई शिशु अवस्थामै अलग-अलग परिवारले धर्मपुत्रीका रूपमा अपनाएका थिए।

र नेदरल्यान्ड्समा एक-अर्काको आसपासमै हुर्किएका थिए। यतिखेर उनीहरू सहोदर दिदी-बहिनी भएको थाहा भएको छ।

मीना गेल्टिङ्क र मिनल टिजेन सन् १९८० को दशकको सुरुतिर जन्मिए। जन्मिएको केही महिनाभित्रै पश्चिम भारतीय सहर मुम्बईका दुई भिन्न अनाथालयबाट उनीहरूलाई धर्मपुत्रीका रूपमा अपनाइएको थियो।

पछि किशोरावस्थाको सुरुतिर उनीहरूको पहिलो भेट भएको थियो।

धर्म सन्तान लिने प्रक्रियाका लागि उनीहरूका अभिभावकले सम्पर्क गरेको संस्थाले आयोजना गरेको एउटा कार्यक्रममा उनीहरूले भेटे।

त्यसबेलै आफ्नो रूप रङ र हाउभाउमा आश्चर्यजनक रूपमा देखिएको समानताबाट उनीहरू छक्क परेका थिए।

अहिले ४३ वर्षकी भइसकेकी मीनालाई त्यस दिन अझै राम्रोसँग याद छ।

"धर्मपुत्रीका रूपमा अपनाइएका सबै बालबालिकालाई एकै ठाउँमा भेला गराइएको थियो ताकि उनीहरू आपसमा घुलमिल हुन, चिनजान बढाउन र सँगै बेलुकाको खाना खान सकुन्।"

'आफूहरूलाई ऐनामा हेर त'

मीना-मीनल

तस्बिर स्रोत, Meena Geltink

मीना र मीनल दुवै आफ्ना साथीहरूसँग थिए। त्यहाँ उनीहरूका साथीहरूले नै उनीहरूबीचको समानता देखेका थिए।

"उनीहरूले भनेका थिए, 'आफूहरूलाई ऐनामा हेर त।'"

"र म सोच्थेँ, 'हे भगवान्, उसको नाक मेरोझैँ छ! हाम्रो हाँसो पनि उस्तै छ।'

"बेलुकाको खाना खाने बेला म उसलाई हेरिरहेकी थिएँ," मीनाले द नेदरल्याण्ड्सको आफ्नो घरबाट बीबीसीलाई भनिन्।

भोलिपल्ट केटीहरूले टेलिफोन नम्बर र ठेगानाहरू साटासाट गरे र सम्पर्कमा रहने वाचा गरे।

रगतको नाता सम्बन्ध भएको कुनै सङ्केत नभए तापनि उनीहरूको सम्बन्ध तत्कालै बन्यो। र वर्षौँसम्म उनीहरूले एक अर्कालाई पत्र लेखे।

एक अर्कालाई धेरैजसो "दिदी-बहिनी" भनेर सम्बोधन गर्थे किनकि "हामीलाई त्यस्तै लाग्थ्यो।"

उनीहरूले स्कुल, साथीसँगी, केटाहरू, बाहिर जाने र नाच्ने बारेमा लेखे। एक अर्कालाई उनीहरूले खेल्ने खेल र सङ्गीतको बारेमा सुनाए। उनीहरू दुवैलाई 'ब्याकस्ट्रिट ब्वाइज' मन पर्ने थाहा भयो।

१५ वर्षअघि उनीहरूको सम्पर्क टुटेको थियो। मीनल फ्रान्स सरेकी थिइन्। र मीना हालै आफ्नो पहिलो बच्चा जन्माएर व्यस्त भइन्।

सन् २०१७ मा धर्मपुत्र-धर्मपुत्रीका रूपमा भारतबाट अपनाइएका व्यक्तिहरूको अर्को एउटा भेलामा मीना सहभागी भइन्।

त्यहाँ उनले डीएनए परीक्षणबारे थाहा पाइन् र आफूले पनि परीक्षण गराउने निर्णय गरिन्। तर उनले कसैसँग पनि 'म्याच' फेला पारिनन्।

र यसै वर्षको सुरुतिर फोनको स्टोरेज भरिएका कारण उनले त्यो एप हटाइदिइन्। त्यसपछि २० मेका दिन मीनाले फेसबुकमा मीनलले पठाएको एउटा खबर पाइन्।

जब डीएनए मिल्यो

मीना-मीनल

तस्बिर स्रोत, Reuters

"मलाई चिन्यौ?" मीनलले सोधिन्।

मीनलले नेदरल्यान्ड्समा रहेका आफ्ना आमाबुवालाई भेट्न जाँदा एप्रिल महिनामा डीएनए परीक्षण गराएकी थिइन्। र उनले आफ्नो परीक्षणको नतिजाको 'स्क्रिनग्र्याब' पठाएकी थिइन्।

"मैले त्यो एप फेरि इन्स्टल गरेँ। म यति धेरै आत्तिएकी थिएँ कि लगइन गर्न सक्नुअघि नै मैले १० पटकसम्म गलत पासवर्ड हालेँ," मीना भन्छिन्।

नतिजा निकै स्पष्ट थियो - यी दुई महिलाहरूको "१०० प्रतिशत म्याच" भएको थियो।

"मैले 'सहोदर दिदी' पाएँ जसको अर्थ हाम्रो जैविक आमा र बुवा एउटै हुनुहुन्थ्यो," मीनाले भनिन्।

"मलाई यस्तो महसुस भयो कि मानौँ शरीरमा एक्कासि ऊर्जाको ठूलो सञ्चार भयो। म रोएँ। मीनल मेरो जीवनको त्यो हराएको टुक्रा थिइन् जसको म लामो समयदेखि प्रतीक्षा गरिरहेकी थिएँ। हामीले एक-अर्कालाई दिदी-बहिनी भन्यौं।"

"यो डीएनए मिल्नुले हाम्रो भित्री अनुमान सही थियो भन्ने कुराको पुष्टि गर्‍यो।"

आफूहरू दिदी-बहिनी भएको थाहा पाएपछि गत अगस्ट महिनाको एउटा घमाइलो दिन यी पुराना साथीहरू पहिलो पटक भेटेका थिए।

"त्यो अद्भुत थियो। घर फर्किएजस्तो महसुस भयो," अहिले तीन सन्तानकी आमा भइसकेकी मीना भन्छिन्।

"वर्षौँसम्म मीनल र मैले हाम्रो मनमा एउटा ठूलो रिक्तता महसुस गरेका थियौँ। अब हामीले आफूलाई पूर्ण भएको महसुस गरेका छौँ। सबै कुरा अब जस्तो हुनुपर्ने हो त्यस्तै भएजस्तो लागेको छ।"

'भावुक पुनर्मिलन'

उनीहरूको "भावुक पुनर्मिलन" बारेको समाचारमा रोएटर्सले लेख्यो, "उनीहरूको भेटमा आँसु, अङ्कमाल र हाँसोको माहोल थियो... र त्यसपछि उनीहरूले सँगै पहिलो 'सेल्फी' पनि खिचे।"

फ्रान्समा आफ्ना जीवनसाथी र दुई छोराहरूसँग बस्दै आएकी ४४ वर्षीया मीनलले उक्त समाचार संस्थालाई बताए अनुसार एप्रिलमा उनको डीएनए परीक्षणको नतिजा आउँदा उनले सुरुमा त्यस्तो होला भन्ने ठानेकी थिइनन्।

३० वर्षअघि पहिलो पटक भेट हुँदा आफैसँग टाँसिएर बसेकी साथीसँग 'म्याच' होला भन्ने उनलाई लागेकै थिएन।

मीना-मीनल

तस्बिर स्रोत, Meena Geltink

सामाजिक सञ्जालमा तस्बिरहरू हेरेपछि मात्र उनले यो कुरा ठम्याउन सकिन्। "'मीना: बहिनी।' मलाई विश्वासै लागेन। हामी दिदी-बहिनी बन्नुअघि नै साथी थियौँ।"

"हामी सधैँ दिदी-बहिनी नै थियौँ," उनले भनिन्। "तर हामीलाई यो कुरा थाहा थिएन।"

मीना र मीनललाई नेदरल्यान्ड्सका दुई फरक दम्पतीले फरक-फरक अनाथालयबाट धर्मपुत्रीका रूपमा अपनाएका थिए।

मीनाका अनुसार उनी नेदरल्यान्ड्सको एउटा सानो गाउँमा हुर्किइन्। उनका अभिभावकहरू निजी विद्यालयमा पढाउँथे।

"उहाँहरू मेरा शिक्षक पनि हुनुहुन्थ्यो," उनी भन्छिन्। "उहाँहरू निकै मायालु र भरोसायोग्य मानिस हुनुहुन्थ्यो।"

फेरिएको जीवन

उनका बुबाको केही वर्षअघि निधन भयो, तर उनकी आमा भने अझै पनि त्यही गाउँमा बस्छिन्।

सन् २००३ मा १९ वर्षको छँदा मीनाले आफ्ना आमाबुवा र गोवाबाट धर्मपुत्रका रूपमा अपनाइएका भाइसँग मुम्बईस्थित अनाथालयको भ्रमण गरेकी थिइन्।

उनीहरूले मीनाका जैविक आमाबुबाको बारेमा पत्ता लगाउने प्रयासमा दुई हप्तासम्म त्यहाँका अभिलेखहरू हेरेर बिताएका थिए।

उनी भन्छिन्, "किनभने म कहाँबाट आएकी हुँ भन्ने कुरा जान्नु मेरा लागि महत्त्वपूर्ण थियो। तर अनाथालयले उनीहरूबारे कुनै पनि विवरण खुलाएन।"

मे महिनायता मीना र मीनल हरेक दिन कुरा गर्छन्। उनीहरूले एक अर्काको जीवनसाथी, छोराछोरी, दाजुभाइ र आमाबाबुलाई भेटेका छन्।

"हामी कसरी एक अर्काको वाक्य जोड्छौँ, कसरी टाउको हल्लाउँछौँ वा उस्तै हिँड्छौँ भनेर सबैले याद गर्छन्," मीना भन्छिन्।

उनीहरू एकै आमाबुवाका सन्तान हुन् कुरा अझै धेरैको मनमा अचम्मगरी चलिरहेको उनी बताउँछिन्।

"कहिलेकाहीँ हामी दुई घण्टा कुरा गर्छौँ र समय हेर्नै बिर्सन्छौँ, अचानक सम्झन्छौँ कि हामीले पसलबाट सामान किन्नुपर्छ वा स्कुलबाट बच्चाहरूलाई ल्याउनुपर्छ।"

मीनाका अनुसार एउटा कुरा उनी र उनकी दिदीलाई "मन पर्थ्यो"। त्यो त्यही कुरा थियो जहाँबाट यो सबै सुरु भएको थियो।

"कुनैबेला हामी सँगै भारत गएर मुम्बईको सडकमा हिँड्न मन छ।"

"कुनैबेला यस्तो पनि थियो जब हामी दुवै निकै एक्लो महसुस गर्थ्यौँ। जस्तै जब मैले मेरो बुबा गुमाएँ वा मन टुट्ने क्षणबाट गुज्रिएँ," उनी भन्छिन्।

"मलाई पछुतो छ कि त्यसबेला हामी एक अर्कासँग हुन सकेनौँ। हामी खुसी बाँड्न सक्थ्यौँ, कठिन समयमा एक अर्कालाई ढाडस दिन सक्थ्यौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।