अपोलो र आर्टिमिस : पृथ्वी ५८ वर्षमा कसरी परिवर्तन भयो

तस्बिर स्रोत, NASA
- Author, रिचर्ड होलिङ्गम
- पढ्ने समय: ६ मिनेट
अपोलो ८ का अन्तरिक्षयात्रीहरूले सन् १९६८ मा पृथ्वीको एक विशेष फोटो खिचेका थिए। जसको नाम दिइएकोथियो: अर्थराइज अर्थात् पृथ्वीको उदय। सन् २०२६मा आर्टिमिस अन्तरिक्ष यात्रीहरूले पनि पृथ्वीको त्यस्तै एक विशेष फोटो खिचेका छन्। ती दुई फोटोहरू हेर्दा हाम्रो नीलो ग्रहमा विभिन्न परिवर्तन भइरहेका थाहा पाउन सकिन्छ।
अपोलो ८ का कमान्डर फ्र्याङ्क बोर्मनले सन् १९६८ मा आफ्नो अन्तरिक्ष यानको झ्यालबाट चन्द्रमाको पल्लो छेउको बनोट पहिलो पटक देख्दा त्यहाँको उराठलाग्दो स्वरूपबाट उनी अचम्भित भएका थिए।
उनले मलाई सन् २०१८ मा बीबीसीका लागि दिएको अन्तरवार्ताका क्रममा भनेका थिए, "चन्द्रमाको सतहमा उल्कापिण्डहरू खस्दा परेका खाडलहरू र ज्वालामुखीका अवशेष देखिन्थे। रङ खैरो, कालो वा सेतो थियो। चन्द्रमाको सतहमा कुनै रङ थिएन र त्यो अविश्वसनीय हिसाबले नराम्रो स्वरूपमा थियो।"
तर जब उक्त अन्तरिक्ष यानले चन्द्र कक्षमा चौथो परिक्रमा पूरा गर्यो अचानक फरक दृश्य देखा पर्यो।
बोर्मनले भने, " हामीले माथि हेर्दा पृष्ठभूमिमा पृथ्वी चन्द्रमाको सतहबाट उदाइरहेको जस्तो देख्यौँ र बिल एन्डर्सले त्यो तस्बिर खिचे जुन शायद अहिलेसम्म कुनै पनि मान्छेले लिएको सबभन्दा महत्त्वपूर्ण तस्बिरमध्ये एक बन्यो।"
"पूरा ब्रह्माण्डमा पृथ्वी एकमात्र एउटा त्यस्तो चिज थियो जसको कुनै रङ थियो। त्यो एक असाधारण दृश्य थियो। यो ग्रहमा बस्ने हामी निकै भाग्यमानी हौँ।"
'अर्थराइज' नाम दिइएको त्यो तस्बिर अहिलेसम्म सबभन्दा धेरै छापिएको तस्बिरमध्ये एक बन्यो। हाम्रो ग्रहलाई चन्द्रमाको बिरानो क्षेत्र र अन्तरिक्षको विशाल उपस्थितिको सन्दर्भमा हेर्दा देखिएको दृश्यले पर्यावरणीय आन्दोलन गर्न प्रेरित गर्यो र सन् १९७० मा पृथ्वी दिवस मनाउन सुरु भयो।
अन्ठाउन्न वर्षपछि नासाका अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको पृष्ठभूमिमा पृथ्वीको 'अर्थसेट' अर्थात् अस्ताउँदै गरेको पृथ्वी नाम दिइएको प्रभावशाली फोटो खिचेका छन्। यो महिनाको सुरुआतमा चन्द्रमा नजिकै हुने गरी गरिएको अन्तरिक्ष यात्राका दौरान आर्टिमिस २ को यात्रीहरूले अन्तरिक्षको विशालताबीच हाम्रो संवेदनशील नीलो ग्रहको नयाँ तस्बिर खिचेका छन्।
(यस पटक त्यो चित्र कसले खिचे हामीलाई थाहा छैन किनभने चारजना अन्तरिक्षयात्रीले व्यक्तिगत फोटोको जस नलिएर टोलीले नै सामूहिक जस लिने निर्णय गरेका छन्।)

तस्बिर स्रोत, NASA
भौगोलिक दृष्टिबाट हेर्दा आधा शताब्दीभन्दा केही बढी समय धेरै हुँदै होइन। तर जलवायु परिवर्तनले पछिल्लो ६ दशकमा पृथ्वीको सतहमा निकै परिवर्तन गरिदिएको छ। विशेषज्ञहरूले बीबीसीलाई भने अनुसार अर्थराइज र अर्थसेट तस्बिरबीच प्रष्ट हुने गरी पाइएको अन्तरले त्यस बेलाको पृथ्वी र अहिलेको पृथ्वीमा विभिन्न परिवर्तन भएको हामीलाई देखाउँछन्।
अर्थराइज तस्बिरको सन्दर्भमा आश्चर्यजनक कुरा के हो भने नासाका कसैले पनि त्यस्तो फोटो खिच्ने अवसर पनि हुनसक्छ भनेर अनुमान नै गरेका थिएनन्।
"उनीहरूले संयोगबश त्यो तस्बिर कैद गरेका हुन्, हैन त?" पहिलो सम्पूर्ण रूपमा "नागरिक मिसन" (इन्सपिरेशन नाम दिइएको)का पाइलट सिएन प्रोक्टरले भने। "अपोलो ८ ले हामीले हाम्रो ग्रहलाई हेर्ने दृष्टिकोण बदलिदियो र त्यस्तै दृष्टिकोण अहिले पनि हामीलाई आवश्यक छ जस्तो मलाई लाग्छ, भन्नाले थप प्रेरणा।"
मैले आर्टिमिस प्रक्षेपण गरिएपछिको पत्रकार सम्मेलनमा नयाँ अर्थराइज तस्बिर खिच्ने योजनाबारे एक प्रश्न सोधेको थिएँ, र यो पटक नासा त्यसो गर्न कुनै हिसाबले नचुक्ने स्पष्ट नै थियो।
"हामी त्यो सम्भव बनाउन सबै काम गर्ने छौँ," एक्सप्लोरेशन सिस्टम्स डेभलपमन्ट मिसन डाइरेक्टोरेटको नेतृत्व गर्ने लरी ग्लेजले भनिन्।

तस्बिर स्रोत, NASA
अर्थसेट फोटो ६ एप्रिलमा चन्द्रमा वरिपरि चक्कर लगाउने सात घण्टाको समयका बेला ओराइअन अन्तरिक्ष यानको झ्यालबाट १८:४१ इस्टर्न डे लाइट टाइम (२३:४१ बीएसटी)मा खिचिएको थियो।
"पृथ्वीमा सूर्यको प्रकाशले उज्यालो पारेको हिस्सातिर ओसिनिया क्षेत्रमा सेतो बादल र नीलो पानी देखिन्छ र अँध्यारो क्षेत्रमा रातको समय चलिरहेको देखिन्छ। यो तस्बिरमा चन्द्रमाको सतह र त्यहाँ एक अर्कामाथि खप्टिएर रहेका क्रेटर्स र बेसिनहरू पनि देखिन्छन्," नासाले यो तस्बिरबारे लेखेको टिप्पणीमा उल्लेख गरेको छ।
सन् १९६८ को तुलनामा अहिले सन् २०२६ मा अनेकौँ भूउपग्रहहरूले हरेक दिन हाम्रो ग्रहको हजारौँ तस्बिर खिच्छन्।
तिनले हाम्रा समुन्द्रहरू, भूमि र बरफको तहलाई अनेकौँ मापदण्डमा नाप्छन् र के भइरहेको छ भनेर अनुगमन गर्छन्। जुन हाम्रा आँखाले देख्न सक्नेभन्दा पनि परका तस्बिर हुन्छन्।
त्यस्तै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पनि निरन्तर रूपमा भिडियो फीड जारी भइरहेको छ र रोबोटिक अन्तरिक्ष यानहरूले पनि पृथ्वीलाई चन्द्रमा र त्यो भन्दा पनि परको बिन्दुबाट हेर्दा कस्तो देखिन्छ भनेर तस्बिर खिचिरहेका छन्।
तर 'अर्थसेट' मानिसहरूले खिचेको भएका कारण त्यो तस्बिर अन्यभन्दा फरक छ।
युरोपेली अन्तरिक्ष निकाय, इसाको आगामी पुस्ताको भूउपग्रहहरूबारेको कार्यक्रम हेर्ने क्रेग डनलन भन्छन्, "मान्छेले खिच्ने तस्बिरले हामीलाई फरक दृष्टिकोण उपलब्ध गराउँछन्।"
"मान्छेले खिच्ने तस्बिरहरू फ्रेममा हुन्छन्, फोकस मिलाइएका हुन्छन् अन्तरिक्ष यात्रीहरूले चेतन र अवचेतन रूपमा रोजिएका तस्बिर हुन्छन् र उनीहरूले केही सोचेर खिचेका हुन्छन्," डनलन भन्छन्। "तिनमा कुनै तरहको संवेदना जोडिएको हुन्छ जस्तो कि- अहो कस्तो राम्रो, त्यहाँ सानो पुरानो पृथ्वी छ, तर त्यो नै पृथ्वी हो जहाँ हामी बसोबास गरिरहेका छौँ। त्यही हो र त्यही नै सम्पूर्ण हो।"
मान्छेसँग जोडिएका कारण मात्र 'अर्थराइज' र 'अर्थसेट' तस्बिर महत्त्वपूर्ण बनेका होइनन्। करिब ५८ वर्षको अन्तरालमा लिइएका यी तस्बिरले त्यस समयको पृथ्वी र अहिलेको पृथ्वीमा कसरी परिवर्तन आएको छ भन्ने देखाउन पनि मद्दत गर्छन्।
यूकेको रेडिङ विश्वविद्यालयका न्याशनल सेन्टर फर अर्थ अब्जर्भेशनमा जलवायु विज्ञानका प्रोफेसर रिचर्ड एलन भन्छन्, "अर्थराइज यता वायुमण्डलमा कार्बन डाइअक्साइडको तह करिब एक तिहाइले बढेको छ र विश्वव्यापी तापमान तीव्र रूपमा बढेको छ कम्तीमा १ डिग्री सेल्सियस।"
"मानव गतिविधिले हाम्रो जमिनको बनावट परिवर्तन गर्दै लगेपछि हाम्रो ग्रह पनि रूपान्तरित हुँदै गएको अन्तरिक्षबाट देखिन्छ। सहर फैलिरहेको छ र अँध्यारा जङ्गलहरू उज्याला कृषि भूमिमा परिवर्तन भइरहेका छन् र त्यसले एरल सागर सुक्दै जानमा सहयोग गरेको छ। एरल सागर सन् १९६० को दशकको आकारको १० प्रतिशतभन्दा कम बाँकी छ।"
पृथ्वी बादलले घेरिएको भए पनि पृथ्वीमा भएका केही परिवर्तनहरू तस्बिरमा देखिन्छन्।
"तिनीहरू पृथ्वीका अलग अलग क्षेत्रका तस्बिर भए पनि दुवै चित्रमा देखिएको समानता के हो भने फरक फरक हिस्सामा हेरे पनि देखिने एन्टार्कटिका र दक्षिणी समुद्र हो," ब्रिटेनको लीड्स विश्वविद्यालयमा ग्लेसियोलजिस्ट बेन्जमिन वालिस भन्छन्।
"एन्टार्कटिक प्रायद्वीप पृथ्वीको त्यस्तो भाग हो जुन सबभन्दा तीव्र रूपमा तातिँदै गइरहेको छ र २८ हजार किलोमिटर बरफको ढिक्का टुक्रिएको छ।"
अध्ययनहरूका अनुसार एन्टार्कटिकमा वरिपरिको बरफमा देखिएको परिवर्तन पछिल्लो १० हजार वर्षमा अभूतपूर्व हो। पृथ्वीको अन्य क्षेत्र जहाँ पानी ठोस रूपमा उपलब्ध छ जसलाई क्रायोस्फिअर भनिन्छ त्यो पनि समान रूपमा प्रभावित भएको छ।
"हामीले वास्तवमा केही नाटकीय परिवर्तन देखेका छौँ," ब्रिटिश एन्टार्कटिक सर्भेकी विज्ञान निर्देशक पेट्रा हेल भन्छिन्।
"हामीले अहिले दुवै गोलार्धमा मौसमी समुद्री बरफमा नाटकीय कमी आएको देख्न सक्छौँ अनि उत्तर अमेरिका, युरेसिया र एसियामा र सिजनको पछितिर हिउँले छोपिएको र समयभन्दा अगावै पग्लिएको पनि देखेका छौँ।"
"मेरो विचारमा हामी अवलोकन गरेको बाट पनि भन्न सक्छौँ। तर सङ्ख्यात्मक मोडलको आधारमा पनि भन्न सक्छौँ सम्भवतः परिवर्तनको ९०/ ९५ प्रतिशत मानव गतिविधिका कारण हो," हेल भन्छिन्।
यो सब त्रासदीपूर्ण लाग्न सक्छ, स्मरणयोग्य के छ भने सन् १९६८ मा अन्तरिक्षबाट देखिएको दृश्यमा त्यतिबेला नै हामीले ग्रहलाई क्षति पुर्याइसकेका थियौँ।
अर्थ डे नेटवर्ककी अध्यक्ष क्याथलिन रोजर्स भन्छिन्, "अर्थराइजले कैयौँ मानिसलाई पृथ्वी कति सुन्दर छ र त्यसमाथि कति नोक्सान भइरहेको छ भन्ने स्पष्ट देखायो।"
"मलाई त्यो समय याद छ - एलएमा पीक आवरको समयमा धुवाँका कारण सडक पारि देख्न सकिन्नथ्यो र हाम्रा नदीहरू समेत जल्ने गर्दथे।"
"त्यति टाढाबाट पृथ्वी यति परिपूर्ण र सुन्दर देखिन्छ र जब तपाईँ पृथ्वीको नजिक आउँदै जानुहुन्छ १५० वर्षको प्रगति वा क्षति देख्न सकिन्छ" भन्छन् रोजर्स।
बोर्मनको निधन सन् २०२३ मा भयो तर उनको अपोलो ८ मिसनको विरासत अहिले पनि जीवित छ र उनका भनाइहरू अहिलेका नयाँ पुस्ताका चन्द्र अन्तरिक्ष यात्रीका लागि पनि उत्तिकै प्रासङ्गिक छन्: "मलाई लाग्छ हामी चन्द्रमामा जाने छौँ र त्यहाँबाट पृथ्वीतर्फ फर्केर हेर्ने रुचि राख्ने छौँ भन्ने तथ्यमा हामीमध्ये धेरैले ध्यान दिएका छैनौँ ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।


























