पर्यटन, व्यापार र जलविद्युत् उत्पादनले चलायमान रहने त्रिशूली करिडर जब क्षणभरमै सुनसान बन्यो

तस्बिर स्रोत, EPA
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
रसुवा बाढीपछिको पुर्ननिर्माणमा ७ खर्ब रुपैयाँभन्दा धेरै लाग्ने आकलन गरिएको सरकारी प्रारम्भिक प्रतिवेदनले त्यसले पुर्याएको क्षतिको दृश्य झल्काउँछ।
बाढीप्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा गरी ७ हजार ५ सय ७० वटा निजी घरहरू कतै पूरै बगेका त कतै लेदोमा पुरिएका छन्।
अधिकारीहरूले दिनहूँ थपघट गर्दै हालसम्म करिब १,४०० जनाको शव (आंशिक अङ्हरूसहित) फेला पारेको र पाँच हजारभन्दा धेरै सम्पर्कविहीन रहेको जनाए पनि मानवीय क्षतिको प्रस्ट आकार थाहा पाउन "महिनौँ लाग्ने" बताउने गरेका छन्।
एक सय किलोमिटरभित्रै एक दर्जनभन्दा बढी सञ्चालनमा रहेका र बन्दैगरेका जलविद्युत् परियोजना क्षतिग्रस्त बन्दा भौतिक क्षति सँगै त्यससँग जोडिएका देशीविदेशी जनशक्तिको मृत्यु भएको वा बेपत्ता भएका छन्।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले नुवाकोटदेखि रसुवाका सीमावर्ती स्थान तीर्थयात्री, पदयात्री र व्यापारी जुट्ने केन्द्रको रूपमा रहेको बताउँछन्।
"बट्टार, विदुरजस्ता ठाउँ प्रशासनिक केन्द्र हुन् भने बेत्रावती, ढुङ्गे, त्रिशूलीजस्ता ठाउँ विविध क्षेत्रबाट मानिसहरू जुटेर चहलपहल हुने आर्थिक केन्द्र हुन्," प्रजिअ रग्मी भन्छन्।
"यहाँ जिल्लाभित्रकै माथिल्ला भेगबाट पनि किनमेल र यात्राका लागि मानिसहरू जुट्छन्। देशभित्रकै अन्य ठाउँ र विदेशबाट त मानिसहरू आउने भइहाले।"
रसुवाबाट प्रतिनिधित्व गर्ने सांसद् मोहन आचार्यले उक्त करिडोरलाई "जलविद्युत्, पर्यटन र अन्तरदेशीय व्यापार"ले जीवन्त पारेको बताउँदै पुरानै स्वरूपमा फर्कन लामो समय लाग्ने विचार व्यक्त गरे।
"सबैभन्दा ठूलो कुरा मानवीय क्षतीको छ। रसुवा, नुवाकोटमा परिवार वा आफन्त बाढीमा परेर शोकमा नपरेको मान्छे भेट्न गाह्रो छ," सांसद् आचार्य भन्छन्।
तीर्थालु र पदयात्री

तस्बिर स्रोत, Reuters
पर्यटनकर्मी नवराज घिमिरेले रसुवागढी नाका हुँदै कैयौँ पटक तिब्बतपट्टि पर्यटकहरूको समूह पुर्याएका छन्।
"यो धार्मिक र प्राकृतिक मिश्रणको ट्रेल हो," घिमिरे भन्छन्। "खासगरी भारतीय र गैर आवासीय भारतीयहरू एउटै धार्मिक यात्राका क्रममा काठमाण्डू वा मुक्तिनाथ पनि पुगेर कैलाश पुग्न हिँडेका पाइन्छन्।"
घिमिरे त्यस रुटको यात्रा "सहज, सस्तो र सुन्दर" भन्दै त्यसमा निकै धेरै खर्च गर्नेदेखि जेनतेन बचत गरेर यात्रा गर्न चाहने दुवैखाले मानिसहरू भेटिने ठाउँ भन्छन्।
"त्यसले गर्दा होटेल-रेष्टुराँ, टुर सञ्चालकदेखि यातायात व्यवसायीहरूको चलायमान बाटो बनिरह्यो। कैलाश मानसरोवर यात्राका लागि नेपालबाटै हुने हिल्सा-सिमिकोटको बाटोभन्दा त्रिशूली करिडोर निकै अनुकूल हुन्थ्यो," घिमिरे भन्छन्।
त्यसबाहेक लाङटाङ पदयात्रा र गोसाईंकुण्ड यात्रा सोही करिडोरबाट सुरु हुन्थे। मुख्यगरी कैलाश यात्रा र लाङटाङ पदयात्राका लागि आएका ठानिएका करिब ६ सय विदेशी नागरिकहरू सम्पर्कविहीन हुनेमध्येमा छन्।
"त्यही बाटोलाई करिअर बनाएर हुर्केका धेरै गाइड, सवारी चालकदेखि उनीहरूलाई निरन्तर आतिथ्य प्रदान गर्ने स्थानीय होटेल सञ्चालक र व्यवसायीहरू हामीले गुमायौँ। त्यसले त्यहाँको पर्यटनको मर्ममै क्षति पुर्याएको छ," घिमिरे भन्छन्।
"त्यस रुटमा विभिन्न पेसामा श्रमिकका रूपमा काम गर्ने त्यस्ता धेरै मानिसहरू बाढीमा फसेका छन् जसका लागि राम्ररी बोलिदिने मानिसहरू पनि छैनन्।"
व्यापारी, सवारी चालक

तस्बिर स्रोत, Reuters
आर्थिक वर्ष २०८२/६३ मा नेपालले २० खर्ब रुपैयाँभन्दा धेरैको वस्तु आयात गरेकोमा करिब एक चौथाइ हिस्सा चीनतर्फबाट हुने गरेको छ।
नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनका लागि रसुवागढी मुख्य स्थल नाकाका रूपमा थियो।
बाह्रमास चल्ने नाकाका रूपमा भूकम्पपछि थलिएको तातोपानी नाकाको विकल्पका रूपमा हेरिए तापनि त्यहाँबाट बर्खाका बेला बारम्बार अवरोध हुन्थ्यो।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले अन्तर्राष्ट्रिय व्यापारसँग जोडिनेको मानवीय क्षतिको लहरो अझै आफूहरूले ठम्याउन नसकिरहेको बताउँछन्।
"सम्पर्कविहीनमध्येमा व्यापारी र उनीहरूका व्यापारिक सहयोगी भनेर हामीले ७६ जनाको सूची बनाएका छौँ। उनीहरू भनेका प्याकिङ लिस्ट तयार पार्ने र जाँच गराउनेहरू मात्र हुन्," कार्की भन्छन्। "ट्रक ड्राइभर र तिनका सहयोगी यसमा समावेश छैनन्।"
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले २३३ जना चालक-सहचालक बेपत्ता भएको जनाएको छ। जस क्रममा ९०० वटा सवारी साधनमा क्षति पुगेको महासङ्घको भनाइ छ।
त्यहाँ चार सयभन्दा बढी कन्टेनरहरू बगेको नेपाल ट्रक कन्टेनर ढुवानी प्रालिले जनाएको छ। अरनिको यातायातले आफ्ना डेढ दर्जन बस तथा २९ जना ती सम्बद्ध मजदुर हराइरहेको बताएको छ।
जलविद्युत् कर्मचारी, विद्याथी शिक्षक

तस्बिर स्रोत, Pradeep Bashyal/BBC
१३ वटा जलविद्युत् आयोजना र २४ मेगावाटका ५ वटा सोलर प्लान्ट प्रभावित हुँदा ७५९ मेगावाट जडित क्षमताका उत्पादन केन्द्रहरू प्रभावित बनेका छन्।
ती आयोजना सम्बद्ध ९०० जना मानिसहरू सम्पर्कविहीन बने तापनि अझै सुरुङभित्र फसेका र बाहिरैबाट सम्पर्कविहीन बनेकाहरूको यकिन विवरण थाहा हुन सकेको छैन।
यसबाहेक ४८ वटा सार्वजनिक भवन, १८ वटा विद्यालय, ७ वटा स्वास्थ्य संस्था र ३० वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ।
शिक्षा मन्त्रालयको सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार रसुवा बाढीपछि ५०३ विद्यार्थी र २८ शिक्षकहरू सम्पर्कविहीन छन्।

१७ वटा विभिन्न ब्याङ्कका शाखा र ४ हजार ८०० व्यापारिक प्रतिष्ठानहरू प्रभावित भएका सरकारी विवरण छन् जहाँबाट सम्पर्कविहीन बनेकाहरूकाको स्पष्ट विवरण आउन पनि बाँकी छ।
विभिन्न पाँच जिल्लाका प्रभावित १५ स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै ३ हजार २६ घरमा क्षति पुगेको छ।
प्रहरीले पानी कम हुन थालेपछि लेदोले पुरिएका घर र चीनतर्फको सीमादेखि भारतसम्म जोडिने गरी फैलिएको नदीको दुवै किनारा आसपास व्यापक खोजी कार्य गरिने समेत बताएको छ।
विपद् जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि ९४ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि ५१ करोड ५४ लाख रुपैयाँ आवश्यक पर्ने सरकारी प्रतिवेदनले औँल्याएको छ।
सूचकबाट विवरण खोजिँदै

तस्बिर स्रोत, Reuters
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आउँदा केही दिनमा प्रभावित वडाका संरचनाहरू प्रयोग गरेर प्रभावितहरूको विवरण लिन लागिएको भन्दै त्यसबाट केही प्रस्टता आउने बताउँछन्।
"त्यो केन्द्रले तयार पारेको सबै जिल्लाका लागि एकैखाले फारम हो," रेग्मी भन्छन्।
"सामान्यतः कुन घरमा कति थिए भन्ने वडाध्यक्ष वा कार्यपालिका सदस्यहरू सबैलाई थाहा हुन्छ। त्यसपछि अद्यावधिक तथ्याङ्क आउँछ भन्ने आशा छ।"
हालसम्म रसुवाको पहुँच सहज नभएकाले नुवाकोटमा सङ्कलन हुने तथ्याङ्कमा समेत रसुवामा रहेको ठानिएकाहरू पनि छन्।
"करिब २५ सयको सङ्ख्यामा बाढीमा हराएका भनेर नुवाकोटमा टिपाइएका छन्," रेग्मी भन्छन्। "धेरैलाई आफ्ना मान्छे घटनाका बेला कुन ठाउँमा थिए भन्ने थाहा छैन।"
रसुवाका सांसद मोहन आचार्यले "अब सूचकका आधारमा" मात्र वास्तविक सङ्ख्या आउन सक्ने ठान्छन्।
"जसकै आधारमा हालसम्म रसुवाका स्थानीयवासी १,८०० भन्दा धेरै सम्पर्कविहीन अवस्थामा छन्। गोसाईंकुण्ड गाउँपालिकाको वडा नम्बर २ मानवरहितजस्तो छ," आचार्य भन्छन्।
"कस्तोसम्म भएको छ भने नुवाकोटको ढुङ्गे भन्ने ठाउँबाट गाडीमा टिमुरे, गोसाईंकुण्ड जाने भनेर हिँडेका कति गाडीहरू बगाए, त्यसको त लेखाजोखै छैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















