तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, यसबारे तपाईँले थाहा पाउनुपर्ने थप कुरा
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
सन् २०२६ मा लिइने कोरियन भाषा परीक्षाका निम्ति आवेदन खुला गरेको ईपीएस कोरिया शाखाले सबै प्रक्रियाहरू पूरा हुन झन्डै एक वर्ष लाग्ने जनाएको छ।
दक्षिण कोरियाका चार क्षेत्रमा कामदार पठाउन उक्त शाखाले यस वर्ष ७,२०० जनाका लागि परीक्षा आवेदन खुला गरेको हो।
तीमध्ये सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रका लागि पाँच हजार, कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार, सेवा र वन क्षेत्रमा १००/१०० जना रहेका शाखाका सूचना अधिकारी राजकिशोर साहले बीबीसीलाई बताए।
नेपालले सन् २००८ देखि जीटूजी अर्थात् दुई सरकार-सरकारबीचको समझदारीअन्तर्गत ईपीएस प्रणालीबाट नेपाली कामदारहरू कोरिया पठाउँदै आएको छ।
सरकारी च्यानलमार्फत् जाने भएर ठगिने जोखिम नहुँदा र पारिश्रमिक पनि तुलनात्मक रूपमा राम्रो भएकोले नेपाली कामदारका निम्ति दक्षिण कोरिया एउटा आकर्षक गन्तव्य मुलुकको रूपमा रहिआएको छ।
आवेदकको योग्यता
अधिकारीहरूका अनुसार यस पटक भाषा परीक्षामा आवेदन दिनका लागि निम्नानुसार योग्यता तोकिएको छ -
- नेपाली नागरिक हुनुपर्छ
- १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको अर्थात् सम्बन्धित उम्मेदवार सन् १९८६ जुलाई २८ देखि सन् २००८ जुलाई २७ बीच जन्मिएको हुनुपर्छ
- फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको हुनुपर्छ
- दक्षिण कोरियामा गैरकानुनी रूपमा बसोबास गरी त्यहाँबाट फिर्ता नपठाइएका व्यक्ति हुनुपर्छ
- नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्छ
- दक्षिण कोरियामा ई९ वा ई१० भिसामा पाँच वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्छ
- रङ्ग छुट्ट्याउन नसक्ने नभएको व्यक्ति हुनुपर्छ।
आवेदन प्रक्रिया
सन् २०२६ को जुलाई २७ देखि अगस्ट २ तारिखसम्म परीक्षाका लागि आवेदन दिइसक्नुपर्ने म्याद तोकिएको छ।
परीक्षा आवेदन फाराम https://eoers.epsnepal.gov.np मा गई अन्लाइन भर्नुपर्छ।
आवेदकले आवेदन फारम भर्दा राहदानीको फोटो भएको पृष्ठ अर्थात् 'बायो पेज' स्क्यान गरी अप्लोड गर्नुपर्छ।
आवेदन फारम भर्दा आवेदकले अनिवार्य रूपमा इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्छ।
आवेदन फारममा छ महिनायता खिचेको सेतो पृष्ठभूमि भएको तर सेतो लुगा नलगाएको, दुवै कान स्पष्ट देखिने 'पासपोर्ट' आकारको रङ्गीन फोटो स्क्यान गरी अप्लोड गर्नुपर्छ।
परीक्षा शुल्कबापत २८ अमेरिकी डलर लाग्ने छ भने आवेदकले जुन दिनमा फारम दर्ता गराउने हो, सो दिनका लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको विनिमयदरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ आवेदन फारम भर्दा सोही पोर्टलबाट अन्लाइन भुक्तानी गर्नुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ।
ललितपुरको भैँसेपाटीस्थित यूबीटी भवनमा परीक्षा सञ्चालन हुने शाखाले जनाएको छ। "एक दिनमा १,००० जनासम्म परीक्षार्थीको परीक्षा लिन्छौँ र त्यो पाँच शिफ्टमा हुन्छ," सूचना अधिकारी साहले भने।
आवेदक सङ्ख्याका आधारमा वा अन्य कुनै कारणले परीक्षा तालिका परिवर्तन हुन सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ।
नतिजा कहिले आउँछ?
प्रथम चरणको भाषा परीक्षाको नतिजा कोरियाको मानव संसाधन विकास सेवाबाट सूचना प्राप्त भएपछि प्रकाशित गरिने शाखाले जनाएको छ।
उसका अनुसार परीक्षार्थीहरूले परीक्षामा आफूले प्राप्त गरेको प्राप्ताङ्कको जानकारी eps.go.kr र epstopik.hrdkorea.or.kr बाट प्राप्त गर्न सक्ने छन्।
सूचना अधिकारी साहका अनुसार अन्तिम सफल उम्मेदवारको वैधता नतिजा प्रकाशन भएको मितिले दुई वर्षसम्म मात्र हुने गरेको छ।
उनका अनुसार सामान्यतया भाषा परीक्षा सकेको १५ दिनदेखि ३० दिनसम्ममा नतिजा आउन सक्छ। तर कुनै बेला बढी पनि लाग्न सक्छ।
"भाषा परीक्षा उत्तीर्ण भइसकेका आवेदकहरूको हकमा एउटा नयाँ सूचना आह्वान गरिन्छ अनि भाषा परीक्षाजस्तै उनीहरूको सीप तथा कार्यक्षमता परीक्षण हुन्छ," त्यसपछिको प्रक्रियाबारे साहले भने।
त्यसको पनि लगभग १५ दिनदेखि ३० दिनमा नतिजा आउँछ र त्यसपछाडि शाखाले सबै गृहकार्य गरेर जागिरको आवेदन फारम भर्न आह्वान गर्छ।
"अनि आवेदकहरूको पूर्वसूची बनाएर हामी कोरियन सफ्टवेअरमा प्रविष्टि गर्छौँ। यताबाट पठाएपछि एचआरडी कोरिया (त्यहाँको मानव संशाधन सेवा)बाट अनुमोदन हुन्छ र सूचीमा बस्छन्," उनले भने।
"त्यहाँ नाम बसेपछि रोजगारदाताले माग गर्छन् अनि उनीहरूको मागबमोजिम मापदण्ड मिल्नेहरू जान थाल्छन्।"
सूचना अधिकारी साहका अनुसार हाल कोरिया जाने पर्खाइमा सात हजार जना रहेका छन्। "उनीहरू यो वर्षभित्र सम्भवतः गइसक्छन्। प्रतीक्षासूचीरमा दुई वर्षसम्म रहन पाइन्छ।"
पूर्वतयारी र नियम
- परीक्षार्थीहरू तोकिएको समयमा अभिमुखीकरणका लागि परीक्षा केन्द्रमा अनिवार्य रूपमा पुग्नुपर्ने शाखाले जनाएको छ। उसका अनुसार तोकिएको प्रवेश समयभन्दा पछि आउने उम्मेदवारलाई परीक्षा हलमा प्रवेश दिइने छैन।
- तोकिएको परीक्षा मिति र स्थान परिवर्तन गर्न पाइने छैन।
- प्रत्येक आवेदकले परीक्षाको दिन आवेदन फारम भर्दा जुन सक्कल राहदानीको प्रतिलिपि पेस गरिएको हो, सोही सक्कल राहदानी र प्रवेशपत्र अनिवार्य लिएर आउनुपर्ने छ। ती सक्कल कागजपत्रहरू नल्याउने उम्मेदवारलाई परीक्षामा सामेल गराइने छैन।
- परीक्षा भवन तथा कोठाभित्र मोबाइल फोन,स्मार्ट वाच, ब्ल्यूटूथ एअरफोन, क्यासेट प्लेअर, पीडीए, एमपीथ्रीजस्ता विद्युतीय उपकरणहरू लैजान पूर्ण रूपमा निषेध गरिएको छ। यस्ता सामग्री फेला परेमा परीक्षार्थीको परीक्षा अवैध ठहरिने छ।
- अर्काको नाममा परीक्षा दिएमा वा भाषा परीक्षामा नक्कल गर्ने वा गराउने परीक्षार्थीलाई चार वर्षका लागि भाषा परीक्षा दिनबाट प्रतिबन्धित गरिने छ र त्यस्ता अवाञ्छित एवं गैरकानुनी गतिविधि गर्ने व्यक्तिहरूको विवरण आमसञ्चारका माध्यमबाट समेत प्रसारण गर्न सकिने छ।
- कोरियन भाषा परीक्षामा उत्तीर्ण भए तापनि स्वास्थ्य परीक्षणमा असफल हुने तथा प्रहरी रिपोर्ट प्रतिकूल हुने व्यक्तिले रोजगार आवेदन फारम भर्न पाउने छैनन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।