फिलिपिन्समा पानीजहाजमा आगलागी भएपछि ८० भन्दा बढी मानिस बेपत्ता

तस्बिर स्रोत, Philippine Coast Guard
फिलिपिन्स तटरक्षकले यात्रुवाहक पानीजहाज (फेरी)मा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको र ८७ जना अझै बेपत्ता रहेको जनाएको छ।
एमभी जुन एस्टर नामको उक्त फेरीमा १०० भन्दा बढी यात्रु र १७ जना चालक दलका सदस्य सवार थिए।
घटना पर्यटकमाझ चर्चित पलावन प्रान्तमा भएको हो। पलावान आफ्ना सुन्दर टापुहरू तथा आइल्यान्ड हपिङ, स्नोर्क्लिङ र डाइभिङका लागि प्रसिद्ध रहेको छ।
अनलाइनमा सार्वजनिक भएको भिडिओमा तटरक्षकले पानीजहाज पूर्ण रूपमा आगोमा लपेटिएको र केही मानिसलाई पानीबाट उद्धार गर्दै गरेको देखिन्छ।
तटरक्षकले पछि भने ४२ जनाको उद्धार गरिएको जनाएको छ।
तटरक्षकका प्रवक्ताले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएका छन्।
"हामी प्रतीक्षा गर्ने छौँ। तर, प्रतीक्षा गरिरहँदा पनि हाम्रो उद्धार तथा खोजी कार्य जारी रहने छ। हामी पानीजहाज सञ्चालन गर्ने कम्पनीसँग पनि समन्वय गरिरहेका छौँ," तटरक्षकका प्रवक्ताले भने।
उद्धारका लागि प्रयास जारी

तस्बिर स्रोत, Philippine Coast Guard
तटरक्षकले पानीजहाजमा लागेको आगो निभाउने प्रयास गर्नुका साथै त्यसको आसपासको क्षेत्रमा पनि गस्ती गरिरहेको छ। तर खराब मौसमका कारण उद्धार तथा खोजी कार्यमा चुनौती देखिएको छ।
"गएराति मौसम खराब थियो र उक्त क्षेत्रमा समुद्री छालहरू निकै शक्तिशाली थिए," ती प्रवक्ताले भने।
"हाम्रो पानीजहाजबाट प्राप्त विवरणअनुसार उक्त क्षेत्रमा समुद्री छाल पनि निकै तीव्र छ। समुद्री छालले यसलाई अझ बाहिरतर्फ बगाएर लगेको छ। खोजी क्षेत्रमा हाम्रा कर्मचारीहरूले सामना गरिरहेका यी नै मुख्य चुनौतीहरू हुन्।"
तटरक्षकले "पूरै सरकार" लाई यसैमा लगाउने प्रयास गर्दै खोजी तथा उद्धार कार्य गरिरहेको र त्यसमा माछा मार्ने समुदायको पनि सहायता लिएको बताएका छन्।
"यी काममा हामी सक्दो प्रयास गरिरहेका छौँ किनभने हामीलाई विश्वास छ कि यस्तो अवस्थामा समय असाध्यै महत्त्वपूर्ण हुन्छ," एक प्रवक्ताले भने।
फिलिपिन तटरक्षकको तर्फबाट प्रवक्ताले ज्यान गुमाएका मानिसका परिवारप्रति शोक व्यक्त गर्दै अझै अवस्था थाहा हुन नसकेका परिवारको आक्रोश आफूहरूले पूर्ण रूपमा बुझ्ने बताएका छन्।
फिलिपिन्समा यस्ता समुद्री घटनाहरू बारम्बार हुने गर्छन्। ७,१०० वटा टापुहरूको देश फिलिपिन्समा यस्तो जोखिम सधैँ रहन्छ।
अन्तर-द्वीप फेरीहरू टापुहरूबीच मानिस र सामान ओसारपसार गर्ने सस्तो माध्यम हुन्। तीमध्ये केही टापुहरूमा हवाईमार्गबाट पुग्न सम्भव छैन।
तर खराब मौसम, मनसुनी वर्षा र आँधीका कारण समुद्रमा ठूलो जोखिम रहन्छ।
फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा आँधी आउने गर्छन् जसले समुद्रमा ठूलो छाल र अशान्त अवस्था सिर्जना गर्छ।
विगतका केही दुर्घटनाहरूको कारण कमजोर मर्मतसम्भार र सुरक्षा कानुनको असमान कार्यान्वयनलाई पनि मानिएको छ।
सन् २०२३ मा देशको दक्षिण पश्चिम छेउमा एउटा यात्रुवाहक फेरीमा आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको थियो। अहिले भएको घटनामा ८७ जना बेपत्ता रहेकाले फिलिपिन्समा भएका गम्भीर समुद्री दुर्घटनामध्ये यो एउटा बन्न सक्ने देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






















