पुरुषभन्दा महिलामा पिसाबनलीको सङ्क्रमण धेरै, गर्भावस्थामा सङ्क्रमण भए 'जोखिम अझ बढ्ने'

हातमा टोइलेट पेपर लिएर शौचालयमा बसेकी एक महिला

तस्बिर स्रोत, Getty Images

    • Author, सृजना श्रेष्ठ
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

एकतीस वर्षीया सविता श्रेष्ठ छ महिनाकी गर्भवती छिन्। गर्भवती भएपछि उनलाई तीन पटक पिसाबनलीको सङ्क्रमण अर्थात् 'यूटीआई' भइसकेको छ।

केही दिनअघि मात्र उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सात दिन भर्ना भएर घर फर्किएकी छिन् र अहिले 'यूटीआई'का लागि 'एन्टिबायोटिक' खाइरहेकी छिन्।

"मलाई यो पटक पिसाबनलीको सङ्क्रमण हुँदा निकै गाह्रो भयो। सात दिनसम्म अस्पताल भर्ना भए भर्खरै घर फर्केकी छु, निकै सकस भयो," श्रेष्ठले बीबीसी न्यूज नेपालीलाई बताइन्।

उनलाई आफूलाई पटकपटक सङ्क्रमण के कारणले भइरहेको थाहा नभए पनि उनलाई उपचार गर्ने चिकित्सकले उनको यो अवस्था रोग प्रतिरोधात्मक क्षमतासँग जोडिएको बताएको उनले बताइन्।

बीबीसी न्यूज नेपालीले कुराकानी गरेका विभिन्न तीन जना चिकित्सकहरूका अनुसार पुरुषभन्दा महिलाहरूलाई पिसाबनलीको सङ्क्रमण बढी हुन्छ। महिलाको शरीरको बनावटका कारण महिलाहरूमा पटकपटक पिसाबको सङ्क्रमण हुने गर्छ। अर्थात् उनीहरूको पिसाबनली, योनि र मलद्वार एकै ठाउँमा हुनु हो र पुरुषको दाँजोमा पिसाबनली छोटो हुनु हो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी उपप्राध्यापक तथा स्त्रीरोग विशेषज्ञ डा. प्रेज्मा श्रेष्ठका अनुसार महिलाहरूलाई धेरै पिसाबनलीको सङ्क्रमण हुनुको मुख्य कारण उनीहरूको शरीरको बनावट नै हो।

"महिलाहरूको पिसाबनली, योनि र मलद्वार एकै ठाउँमा हुन्छन्। उनीहरूले दिसा सफा गर्दा आफ्नै दिसाले यूटीआई धेरै हुने गर्छ। धेरैले दिसा सफा गर्दा पछाडिबाट अगाडि गर्छन्, जसका कारण सङ्क्रमण गराउँछ। यसका साथै महिलाहरूको पिसाबनली छोटो भएकाले सङ्क्रमण छिट्टै पिसाब थैलीमा पुग्छ।" डा. श्रेष्ठले बीबीसी न्यूज नेपालीलाई बताइन्।

मिर्गौला विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्छन्, "गर्भवती महिलाहरूको पाठेघर ठूलो भएका कारण त्यसले पिसाबथैलीलाई थिच्छ अनि पिसाबनलीमा सङ्क्रमण हुने जोखिम बढी हुन्छ।"

कुन उमेर समूहका महिलाहरूलाई बढी 'यूटीआई' हुन्छ र किन?

परीक्षणका लागि पिसाबको नमुना समातेको एउटा हात

तस्बिर स्रोत, Getty Images

विभिन्न तथ्याङ्क र चिकित्कसहरूको अनुभवका आधारमा सबैभन्दा धेरै पिसाबनलीको सङ्क्रमण प्रजननयोग्य उमेर समूहका महिलाहरूलाई भएको पाइएको छ।

"प्रजननयोग्य उमेर समूहका महिलाहरूमा कन्डम र 'स्पर्मिसाइड जेल' जस्ता गर्भनिरोधक साधनको प्रयोगले पनि पिसाबनलीको सङ्क्रमण हुने गर्छ," डा. श्रेष्ठ बताउँछिन्।

उनका अनुसार महिलाहरूको शरीरमा विभिन्न चरणमा होर्मोनको गडबडीले गर्दा समेत 'यूटीआई' हुने गर्छ। "महिनावारी बन्द भएपछि महिलाको शरीरमा ईस्ट्रजन नामक होर्मोनको कमी हुन्छ, जसले गर्दा योनिको छाला पातलो भएर जान्छ र यूटीआई छिट्टै हुन्छ।"

जोखिम

पटकपटक 'यूटीआई' भयो भने स्वास्थ्यमा अन्य केके जोखिम हुन सक्छन्?

मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले आफूकहाँ जँचाएका केही बिरामीहरूलाई यूटीआई भएर मिर्गौलाले काम गर्न छाडेको समेत देखिएको बताउँछन्।

"बिरामीहरूको मुख्य समस्या भनेको चाहिँ एक पटक पिसाबनलीमा सङ्क्रमण भइसकेपछि जँचाएर औषधि खान्छन् र राम्ररी ठिक भए नभएको थाहा पाउन दोहोर्‍याएर चिकित्सकसँग परामर्श गर्दैनन्। यसले गर्दा दोहोर्‍याएर सङ्क्रमण हुने जोखिम हुन्छ," डा. काफ्ले बताउँछन् ।

उनका अनुसार पटकपटक यूटीआई हुनु भनेको मिर्गौलालाई समेत जोखिम हुनु हो।

स्त्रीरोग विशेषज्ञ प्रेज्मा श्रेष्ठका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका महिलामा पटकपटक यूटीआई भइरह्यो भने शरीरभरि सङ्क्रमण फैलिएर 'सेप्सिस' सम्म भएर ज्यानको जोखिम हुन सक्छ।

"यसबाहेक गर्भावस्थामा यूटीआई भए समय नपुगी बच्चा जन्मिन सक्छ, बच्चालाई समेत सङ्क्रमण हुन सक्छ र बच्चा जन्मिसकेपछि पनि महिलाहरूलाई लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन सक्छ।"

'यूटीआई'बाट कसरी बच्ने?

पिसाबनलीको सङ्क्रमण देखाउने साङ्केतिक चित्र

तस्बिर स्रोत, Getty Images

चिकित्सकहरूका अनुसार पिसाबनलीको सङ्क्रमणबाट बाच्नका लागि निम्न उपायहरू गर्न सकिन्छ -

  • सरसफाइमा ध्यान दिने
  • प्रशस्त पानी पिउने, जसका कारण सङ्क्रमण पिसाबसँगै पखालिएर जान्छ
  • दिसा सफा गर्दा पछाडिबाट अगाडि सफा नगर्ने
  • पिसाब रोकेर नबस्ने, पिसाब धेरै बेर रोकेर बस्दा पिसाबनलीको सङ्क्रमण बढ्ने सम्भावना हुन्छ
  • यौनसम्पर्कपश्चात् पिसाब फेर्ने
  • फोहोर सार्वजनिक शौचालय सकेसम्म प्रयोग नगर्ने र गर्नै परेमा शौचालय पानीले पखालेर प्रयोग गर्ने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।