चीनबाट आएको धनियाँ रोक्नु पर्ने कारण बनेको 'खप्रा बीटल' कीरा किन यति खतरनाक?

खप्रा बीटलका लार्भा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लार्भा अवस्थाका खप्रा बीटल
Published
पढ्ने समय: ४ मिनेट

करिब दुई महिनाअगाडि तातोपानी नाकाबाट चीनबाट आयातित धनियाँमा अन्य असङ्गतिसहित 'खप्रा बीटल' भनिने कीराको अवशेष भेटिएको बताइएपछि करिब ३० टन धनियाँ नाकामै थन्किएको छ।

कृषि मन्त्रालय अन्तर्गत रहेको प्लान्ट क्वारन्टीन तथा विषादी व्यवस्थापन केन्द्रले चिनियाँ पक्षसँग "केही आयात सर्तहरू" निर्धारण गरिएको जनाएको छ। तिनमा शत्रु जीव मुक्त हुनुपर्ने लगायत अन्य दस्ताबेज अपुग भएका विषय पनि रहेको उसले जनाएको छ।

देश भित्रिएमा यहाँको जैविक विविधता तथा कृषिमा नोक्सानी पुर्‍याउन सक्ने कीरालाई शत्रु जीव समेत भनिन्छ।

तिनको जोखिम विश्लेषण गरेर त्यसै अनुरूपका आयात सर्तहरू निर्धारण हुन्छन् जसबमोजिम अर्को सम्बन्धित देशको निकायले जारी गर्ने सर्टिफिकेटका आधारमा केन्द्रले तिनलाई नेपालभित्र ल्याउने अनुमति दिन्छ।

के हो खप्रा बीटल?

बीटल प्रजातिको कीरामध्ये पर्ने खप्रा बीटल दक्षिण एसियाली भूगोलमा पहिलेदेखि नै पाइने भए पनि नेपालमा हालसम्म नभित्रिएको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रोशन अधिकारी बताउँछन्।

"ट्रोगोडर्मा ग्रानारिअम" वैज्ञानिक नाम भएको उक्त कीरालाई अत्यन्त खराब शत्रु जीवको रूपमा लिइन्छ।

"यसलाई खतरनाक किन भनियो भने एक पटक भित्रिएपछि यसले हामीकहाँ भण्डारण गरिएका धान, मकै, गहुँसहितका अन्नबालीहरू वा पिठो सबैमा सङ्क्रमण गर्न सक्छ," उनले भने।

अन्तर्राष्ट्रिय जगतमै यसलाई मिचाहा प्रजातिको रूपमा समेत लिइने भन्दै उनले यो खप्रा बिटल कीरा लामो समयसम्म खानापिना विना समेत सुषुप्त भएर बस्न सक्ने हुनाले नियन्त्रण गर्न एकदम गाह्रो हुने बताए।

खप्रा बीटल

तस्बिर स्रोत, Getty Images

"त्यस कारण आयातित खाद्यान्नका खेपहरूबाट यस्तो शत्रुजीव नभित्रियोस् भनेर हामी सचेत छौँ र नमुनाहरूको परीक्षण गर्छौँ। परीक्षणबाट पास भएपछि मात्र आउन अनुमति दिन्छौँ," अधिकारीले भने।

खाद्यान्नमात्र नभई बोरामा वा कन्टेनरमा समेत यिनका अवशेष फेला पर्न सक्ने सम्भावना हुन्छ।

"हाम्रो सानो कमजोरी भयो भने पनि भोलि मुलुकमा ठूलो क्षति पुग्न सक्छ। स्थिति भयावह हुन सक्छ भनेर यस मामिलामा हामी सचेत छौँ।"

व्यावसायिक भण्डारण, उद्योगदेखि लिएर आम किसानहरूले गर्ने भण्डारणमा समेत यसले व्यापक क्षति पुर्‍याउने खतरा रहेको उनले बताए।

विगतको पाठ

कीटविज्ञ डा. रेशमबहादुर थापा खप्रा बिटललाई भित्रन नदिन हर प्रयत्न गर्नु पर्ने सुझाउँछन्।

"हामीले अध्ययन गर्दा धेरै पहिला कतैकतै फाट्टफुट्ट भेटिए पनि नेपालमा यो प्रजाति खासै छैन। तर यो भित्रिएर फैलियो भने हाम्रा अन्न भण्डारहरू सखाप बनाइदिन सक्छ," डा. थापाले भने। "कोरोनाको प्रकोपले मानिसलाई प्रभाव पारेजस्तै यसको प्रकोपको ठूलो असर हुन सक्छ।"

उनले विगतमा अमेरिकी फौजी कीराले पुर्‍याएको क्षति स्मरण गरे।

सन् २०१९ मा नेपालका विभिन्न भागमा अमेरिकी फौजी कीराको प्रकोपले मकैबाली सखाप भएको गुनासो किसानहरूले गरेका थिए।

फल आर्मीवर्म नामक उक्त कीराले केवल मकै मात्रै नभई अन्य अन्नबालीमा पनि असर पुर्‍याएको थियो।

केन्द्रकै विवरणहरूमा सन् २०१५ को भूकम्पको समयमा गोलभेँडा बालीमा देखा परेको टुटा एब्सोलुटा कीरा तथा सन् २०१९ मा फैलिएको अमेरिकी फौजी कीराले व्यापक मात्रामा क्षति पुर्‍याएको उल्लेख छ।

त्यस्ता क्वारन्टीन शत्रु जीवहरूको आक्रमणबाट देशको जैविक सुरक्षामा खतरा हुने र खाद्य सुरक्षामा पनि नकारात्मक असर पर्ने उसले जनाएको छ।

खासगरी बिरुवा तथा बिरुवाजन्य वस्तुको अन्तर्राष्ट्रिय व्यापारमार्फत् हुन सक्ने तिनको आगमन र फैलावटलाई नियन्त्रण गर्नु पर्ने भनिएको छ।

"बाह्य मिचाहा किसिमका यस्ता कीरा भित्रिए भने तिनले हाम्रो जैविक विविधतालाई पनि नोक्सानी पुग्छ," केन्द्रका पूर्व प्रमुख डिल्लीराम शर्माले भने।

भित्रिन नदिने उपाय कस्ता?

प्लान्ट क्वारन्टीन प्रयोगशाला

तस्बिर स्रोत, NPPONepal

प्लान्ट क्वारन्टीन तथा विषादी व्यवस्थापन केन्द्रले देशभरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १५ वटा नाकामा क्वारन्टीन कार्यालय खोलेको छ।

तीमध्ये चीनसँगको सिमानामा तीनवटा -तातोपानी सिन्धुपाल्चोक, टिमुरे रसुवा अनि लोमान्थाङ्ग मुस्ताङ – रहेका छन्।

"केन्द्रले सुरुमा आयातका लागि सर्तहरू निर्धारण गरेर प्रवेश अनुमतिपत्र दिन्छ। कुनै देशबाट कुनै वस्तु आउँदै छ भने हामीले पहिले त्यसको जोखिम विश्लेषण गरेर सर्त राखेका हुन्छौँ। त्यसको आधारमा सम्बन्धित देशको निकायले बिरुवा स्वच्छता प्रमाणपत्र फाइटोस्यानिटरी सर्टिफिकेट दिएको हुन्छ," वरिष्ठ बाली संरक्षण अधिकृत रोशन अधिकारीले भने।

"त्यसरी आएको वस्तुलाई आयातकर्ताहरूले प्रणालीमा प्रविष्ट गरेर केन्द्रसँग छोडपूर्जी माग्छन्। त्यसपछि केन्द्रले आफ्ना अधिकारीहरूलाई सम्बन्धित नाकामा खटाएर नमुना परीक्षण गर्छन्। सबै ठिकठाक भयो भने ती वस्तु भित्रिन्छन्।"

कुनै शङ्का लागेमा केन्द्रले थप परीक्षण गराउन पनि सक्छ। हाल काठमाण्डू , वीरगन्ज, भैरहवा र नेपालगन्जमा त्यस्तो प्रयोगशाला उपलब्ध रहेको अधिकारीले बताए।

हालै केन्द्रले भारत तथा चीनबाट आयात हुने आँपहरूको हकमा पनि केही शत्रु जीवहरूको मुक्तताका निम्ति आयातका सर्तहरू उल्लेख गरेको थियो।

"युगान्डाबाट भित्रिएका एभोकाडोमा पनि यहाँ नदेखिएका रोग देखिएको थियो।"

कैयन् शत्रु जीवहरूको सूची राजपत्रमै प्रकाशित गरिएको छ भने त्यसमा नभएका समेत शत्रु जीवहरूको जोखिम विश्लेषण गरेर आयात सर्त निर्धारण गरिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।