सुनसरी घटनाबारे सिंहदरबारमा सर्वदलीय छलफल, प्रधानमन्त्री नदेखेपछि कसले के भने

क्रमश: बायाँबाट पुष्पकमल दाहाल, गगन थापा, रवि लामिछाने र शङ्कर पोखरेल

तस्बिर स्रोत, Nepal Photo Library

    • Author, पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

सुनसरीमा भएको जस्तो घटनाको समाधानका लागि संयम अपनाउँदै समाधानका दीर्घकालीन उपाय खोजिनुपर्ने निष्कर्षमा सत्तारूढ तथा विपक्षी नेताहरू पुगेका छन्।

सुनसरीमा साम्प्रदायिक तनाव उत्पन्न भएसँगै सत्तारूढ दलको शीर्ष नेतृत्वले आह्वान गरेको सर्वदलीय बैठकका सहभागी नेताहरूले त्यस प्रकृतिका घटनाको जरैसम्म पुगेर हल खोज्नुपर्ने बताएका हुन्। "यस किसिमका घटनाहरू हुँदा एकैठाउँमा उभिनुपर्छ भन्ने कुराको महसुस हामी सबैले गर्‍यौँ," बैठकको आयोजना गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने।

तर उक्त बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' र गृहमन्त्री सुधन गुरुङ भने सहभागी भएनन्। विशेष गरी प्रधानमन्त्रीको अनुपस्थितिबारे बैठकमै प्रश्न पनि उठ्यो।

"यो पहलका निम्ति हामीले रास्वपा सभापतिलाई धन्यवाद भनेका छौँ तर सँगसँगै उहाँमार्फत् सरकारलाई प्रश्न पनि गरेका छौँ - यतिबेला सरकार के गर्दै छ?" बैठकबारे सञ्चारकर्मीहरूलाई जानकारी दिने क्रममा विपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले भने।

यद्यपि लामिछानेले भने 'सर्वदलीय बैठक भएकाले दलका शीर्ष नेताहरू सहभागी भएका' प्रतिक्रिया दिए। बुधवारको बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले मात्रै देखा परे।

प्रधानमन्त्रीको खोजी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुनसरी घटनाको विषयमा छलफल गर्न सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै

तस्बिर स्रोत, RSS

विपक्षी नेता थापाले यस्तो बेला प्रधानमन्त्रीले सरोकारवालाहरूसँगको संवादको नेतृत्व गर्नुपर्ने धारणा राखे।

"सरकार केबल बन्दुकको गोली र लाठीमा मात्रै भेटिनु हुँदैन र 'स्ट्याटस'मा मात्रै सीमित रहनु हुँदैन," उनले भने, "ऊ अभिभावक मात्रै होइन नेता पनि हो।

"उसले सहकार्य गर्न सक्नुपर्छ। उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ अनि मात्रै अरुले उसलाई विश्वास गर्छन्।"

"हामी यो बेला सरकारलाई अप्ठ्यारो पार्न चाहन्नौँ। तर मैले बैठकमा भनेँ 'यस्तो बेला पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने हो?...ठालू भएर बस्ने हो? सबैलाई जोड्ने प्रयास गर्नुपर्दैन?' प्रधानमन्त्रीले [त्यसो] गर्नुपर्छ भन्ने हामी ठान्छौँ," थापाले भने।

बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पनि सहभागी थिए।

सर्वदलीय बैठकमा सहभागी लगभग सबैजसो विपक्षी दलका नेताहरूले प्रधानमन्त्री र गृहमन्त्रीको खोजी गरेका जनमत पार्टीका सीके राउतले बताए।

"यो बैठक पनि [रास्वपाले नभई] सरकारले नै आयोजना गर्नुपर्थ्यो भनेर हामी सबैले कुरा उठायौँ," उनले भने, "[रास्वपाका नेताहरूले] यसपछिको चरणमा त्यो हुन्छ भन्नुभयो। अर्थमन्त्री वाग्लेले सरकारका तर्फबाट आफ्नो भनाइ राख्नुभयो र प्रधानमन्त्रीले आफ्नो कुरा [फेसबुकमार्फत्] अभिव्यक्त गरिसकेका पनि बताउनुभयो।"

प्रधानमन्त्रीको अनुपस्थितिबारे आफूहरूले पनि प्रश्न उठाएको श्रमसंस्कृति पार्टीका सांसद आरेन राईले बताए।

"प्रधानमन्त्री नआए पनि कमसेकम गृहमन्त्री आउनुपर्थ्यो भन्ने कुरा राख्यौँ। सरकार कति संवेदनशील छ भन्ने कुरा यस्तै यस्तै बेलामा थाहा हुने हो," सांसद राईले भने, "अर्थमन्त्री वाग्लेले बैठकमा उठेका कुरामाथि [प्रधानमन्त्रीसम्म] पुर्‍याउने कुरा गर्नुभयो।"

बैठकमा अरू के भयो

बैठकमा तनाव चर्किन नदिन समाधानका दीर्घकालीन उपाय खोज्नेबारे छलफल भएको जनमत पार्टीका राउतले बताए।

"सङ्कटका बेला सबै दलहरू एक ठाउँमा आएर सन्देश दिन सक्नुपर्छ। त्यो अर्थमा यो बैठक एउटा राम्रो सङ्केत हो," उनले भने।

"देशमा साम्प्रदायिक दुर्घटनाको जोखिम देखिएका बेला सबै पक्ष एक ठाउँमा उभिनुपर्छ भन्ने किसिमको छलफल भयो," बैठकमा सहभागी श्रमसंस्कृति पार्टीका राईले भने।

त्यस्तै सुनसरी घटनामा सुरक्षा निकायले बल प्रयोग गरेका विषयमा पनि चर्चा भएको उनले बताए।

"सरकारले जुनै कुरामा पनि शक्ति प्रयोग गर्ने होइन। संयम अपनाउँदै सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ। सूचना संयन्त्रहरूलाई सुधार्नुपर्ने लगायतका विषयमा हामीले आफ्ना कुरा राख्यौँ," राईले भने।

बैठकमा एमालेका महासचिव शङ्कर पोखरेल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी थिए।

प्रधानमन्त्री बालेनको अपील

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सुनसरीको घटनाबारे "सरकारले गम्भीर भएर समीक्षा गरेको" भन्दै सामाजिक सद्भाव कायम राख्न सामाजिक सञ्जालमार्फत् अपील गरेका छन्।

"फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमका बारेमा गम्भीर र जिम्मेवार कदमको महसुस गर्नुहुने छ," मङ्गलवार राति उनले फेसबुकमा लेखेका छन्।

"त्यतिबेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला। हामीलाई धर्मले सिकाउने पनि त्यही हो। मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो। सरकारले यो सबै काम यथाशक्य चाँडो गर्ने छ," उनले लेखेका छन्।

उनले सुनसरी घटनामा सुरुदेखि नै सरकारले आफ्नो उपस्थिति देखाए पनि त्यो अपर्याप्त भएको स्वीकार गरेका छन्।

"सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए। सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन। यसबारेमा अनुसन्धान सुरु भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु।"

त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा विभिन्न राजनीतिक दलहरूले पनि संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेका थिए।

सुनसरीको अवस्था के छ

विराटनगरमा प्रदर्शनकारी र प्रहरी

तस्बिर स्रोत, BBC/BIKRAM NIRAULA

तस्बिरको क्याप्शन, मङ्गलवार विराटनगरमा पनि प्रदर्शनहरू भएका थिए

सुनसारीको कप्तानगन्जबाट सुरु भएको तनाव मत्थर नभएपछि सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले केही थप क्षेत्रमा कर्फ्यू विस्तार गरेको छ।

जिल्ला सुरक्षा समितिको बैठक बसेसँगै मङ्गलवार राति ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि थप क्षेत्रमा पनि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जनाएका छन्।

प्रशासनले इटहरी उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ तथा रामधुनी नगरपालिकाको वडा नम्बर १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँबायाँ २०० मिटर क्षेत्रमा पनि कर्फ्यू लगाएको हो। त्यस्तै इनरुवा र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगन्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा पनि कर्फ्यू लगाइएको छ।

कर्फ्यू लागु भएको अवधिमा तोकिएका क्षेत्रमा कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाइने भनिएको छ।

"राति कप्तानगन्जबाट केही तोडफोडका विवरणहरू आएका थिए," जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सहायक प्रजिअ पोषण लामिछानेले बीबीसीसँग भने, "कर्फ्यूको दायरा बढाएसँगै स्थिति तुलनात्मक रूपमा शान्त बनेको छ।"

सोमवार र मङ्गलवार कप्तानगन्जसहितका क्षेत्रमा कर्फ्यू जारी भएकै बेला पनि स्थानीय बासिन्दाहरूले नाराजुलुस गरेको विवरण आएको थियो। सोमवारबाटै कप्तानगन्ज र आसपासका क्षेत्रहरूमा सेनासहितका सुरक्षा निकायले गस्ती गरिरहेका छन्।

कसरी भएको थियो घटना

सुनसरीको नक्सा
तस्बिरको क्याप्शन, देवानगन्ज गाउँपालिकाको सीमा दक्षिणमा भारतसँग जोडिएको छ

सोमवारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोलनजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा 'डीजे' बजाएपछि तनाव सुरु भएको बताइन्छ।

स्थानीय अधिकारीहरू अनुसार कप्तानगन्जमा मुस्लिम बस्ती टुङ्गिएर बजार क्षेत्र सुरु हुने ठाउँमा एउटा शिवालय छ।

पहिला सोही स्थानमा झडप भएको थियो।

तनाव चर्किएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्यस क्रममा एक जना मारिनुका साथै केही घाइते भएका थिए।

घटनाको छानबिन गर्न गृह मन्त्रालयले एउटा टोली गठन गरेको छ। गृहमन्त्री, गृहसचिव र सुरक्षा निकायका प्रमुखहरूबीचको छलफलपछि सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन भएको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।