तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विपद्बाट जोगिन परम्परागत पूर्वसूचना प्रणाली 'अपर्याप्त,' नौला उपाय कस्ता
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
हिमताल खण्डित भएर नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा उत्पन्न भएको बाढीजस्तै अरू विपत्तिबारे बेलैमा सचेत रहन र पूर्वसूचना बाँड्न परम्परागत प्रणाली अपर्याप्त हुने हुँदा नयाँ किसिमका प्रणाली अपनाउन विज्ञहरूले सल्लाह दिएका छन्।
भदौ १० गते तिब्बत हुँदै भोटेकोशी र त्रिशूली बाढी आएको भन्ने पूर्व सूचना थोरै समयअगाडि मानिसहरूले पाए पनि त्यसलाई सामान्य बर्खामा आउने अघिपछिको जस्तै बाढी होला भन्ने धेरैले ठाने।
नेपाल भौगर्भिक समाजका अध्यक्ष भूगर्भविद् भाष्कर खतिवडा आफैँ त्रिशूली करिडरका बासिन्दा हुन्। उक्त दिन समाचार थाहा पाउनासाथ उनले गल्छीमा रहेका बुवालाई सचेत गराउन र सुरक्षित रहन फोन गर्दाको प्रसङ्ग सुनाए।
"त्यहाँको समुदाय त्रिशूलीसँगै हुर्किएका हुन्। उनीहरूले यसअघि पनि बाढी देखेका हुन्। मैले बुवालाई सुरक्षित रहन भन्दा सुरुमा धेरै गम्भीरतापूर्वक लिएको पाइनँ। बरु बाढी हेर्नतिर मानिसहरू लागे। भाग्यवश कुनै अप्रिय घटना त्यहाँ भएन। तर यसले हामीलाई आगामी दिनमा समुदायहरूलाई थप सचेत गराउनुपर्ने पाठ पनि सिकाएको छ," खतिवडाले भने।
परराष्ट्रमन्त्री शिशिर खनालको शब्दमा 'हिमालयन सुनामी' बनेर आएको उक्त विपद्ले धेरैलाई भाग्ने र सुरक्षित रहने समय नै दिएन।
कस्तो प्रणाली उपयुक्त होला
आगामी दिनमा प्रविधिको सहारा लिएर भिन्न प्रकारको पूर्वसूचना प्रणाली अपनाउन सके बेलैमा जनधन जोगाउन सकिने विज्ञहरू ठान्छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका फील्ड ग्लेसिओजजिस्ट दिवस श्रेष्ठ "कम्पन मापन" गर्ने प्रविधिको उपयोग गर्न जरुरी देख्छन्।
"अहिलेसम्म हामीले परम्परागत बाढीलक्षित पूर्वसूचना प्रणाली अपनाएका थियौँ। खोलानालामा जलसतह कति छ र कति बढ्दै छ भन्ने किसिमले हामीले निगरानी गर्दै आएका थियौँ। तर यस पटकको बाढीमा त हामीले अगाडिदेखि जलसतह परिवर्तन हुँदै आएको देखेनौँ। त्यसैले अब फरक किसिमले सोच्नुपर्ने भएको छ," उनले भने।
"सायद साइज्मिक-बेस्ड सेन्सरबाट गरिने पूर्वसूचना प्रणाली बढ्ता प्रभावकारी हुन्थ्यो," श्रेष्ठले भने।
जोखिम भएका हिमाल र पहाडहरूमा सेन्सरहरूबाट "कम्पन मापन" गर्न सके यस्ता भौगर्भिक घटनाबारे पहिले नै थाहा पाउन सकिने उनको सुझाव छ।
भोटेकोशी बाढी उत्पन्न भएको स्थानमा भुँइचालो जाँदाको जस्तो कम्पन मापन गरिएको विवरणहरू पछि आए।
"यदि हामीसँग साइज्मिक मापन गर्ने बलियो सञ्जाल भयो भने हिमनदीहरूमा 'क्र्याक' आउँदा थाहा पाउन सकिन्छ र यस्ता विपद्सँग जुझ्न सकिन्छ भन्ने हामीलाई लागेको छ," श्रेष्ठले भने।
भूगर्भविद् खतिवडा आगामी दिनमा नेपालले टाढैबाट निगरानी गर्न सकिने प्रणालीहरूको उपयोग गर्नुपर्ने बताउँछन्।
"विद्यमान पूर्वसूचना प्रणाली त यस्तो विपद्का लागि पूर्णत: विफल रहे। हामीले त वर्षाको मात्रा हेरेर जलस्तर नाप्दै बाढीको पूर्वानुमान गर्ने गरेका थियौँ। तर केही अघि थामेमा भएका जस्ता घटनाले हामीलाई केही सावधान त गराइरहेको थियो," उनले भने।
"हिमाली क्षेत्रमा बस्ने हुनाले हामीले यसलाई बानी पार्नुपर्छ। अहिलेसम्म हामीले सतहमा आधारित निगरानी गर्दै आएका थियौँ। तर अब भूउपग्रहबाट लिइएका तस्बिरहरूको अध्ययन तथा रिमोट (टाढैबाट गरिने) किसिमबाट क्यामराहरू तथा रेडारको प्रयोग गरेर निगरानी गर्नुपर्छ।"
चीनसँग सूचना आदानप्रदान महत्त्वपूर्ण हुने
यस पटकको बाढी नेपाल-चीन सीमा क्षेत्रमा उत्पन्न भयो। त्यसैले अब सुदृढ चेतावनी प्रणाली विकास गर्न सीमावारपार थप समन्वय तथा सूचना आदानप्रदान आवश्यक हुने विज्ञहरूले बताएका छन्।
"बाढीपछि हामीले दिनमा दुई पटकसम्म चीनबाट अद्यावधिक सूचनाहरू पाइरहेका छौँ। त्यहाँ भएका सर्वेक्षण तथा सेन्सरबाट प्राप्त डेटा पाइरहेको अवस्था छ," सरकारको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले भने।
भदौ १० को विपद्पछि उक्त क्षेत्रमा बनेको दुईवटा तालमध्ये एउटा फुटिसकेको जानकारी केही दिनपछि नेपाली अधिकारीहरूले पाएका थिए। "अर्को दोस्रो तालबाट चाहिँ भरिएर लेदो शनिवार बेलुकीदेखि बाहिर निस्किन थालेको जानकारी पाइएको थियो," पराजुलीले भने।
उनका अनुसार त्यहाँ अब जोखिम कम हुँदै गएको छ तर शून्य भई सकेको छैन।
हालै बीबीसीसँगको कुराकानीमा परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग यस्ता जानकारी आदानप्रदानलाई थप व्यवस्थित बनाइने बताएका थिए।
"मैले जुन महिनामा चीन भ्रमण गर्दा आफ्ना समकक्षीसँगको भेटमा नेपाल र चीनबीच यस विषयमा संयुक्त संयन्त्र बनाउने पहिलाको सहमतिका कार्यान्वयनको आवश्यकताको कुरा उठाएको पनि थिएँ। भ्रमणलगत्तै त्यसको प्रोटोकलको खाका आदानप्रदान हुँदै थियो," खनालले भनेका छन्।
"अहिलेको परिवेशमा सामान्य अर्ली वार्निङ प्रणाली (पूर्वसूचना) अपर्याप्त देखिएको छ। बाढी आउन लागेको थाहा भए पनि त्यसको गहनता बोध नभएको पाइयो। हिमालय क्षेत्रमा भइरहेको परिवर्तनबारे अध्ययन अनुसन्धानसहितको सहकार्यको आवश्यकता देखिएको छ," परराष्ट्रमन्त्रीले बताएका छन्।
स्थानीय समुदायमा थप चेतना आवश्यक
विज्ञान र प्रविधिको उपयोगमात्र नभई समुदायलाई नै फरक ढङ्गले सुसूचित गर्नु पनि उत्तिकै आवश्यक भएको विज्ञहरूले औँल्याएका छन्।
उक्त बाढीका बेला सरकारी निकायहरूले बाढी आउँदै गरेको र सुरक्षित रहन भन्ने सन्देश प्रवाह गरे तर कैयौँ मानिसहरूले यस्तो विपत्ति पहिले नदेखेको नसुनेको हुनाले आवश्यक गम्भीरताका साथ त्यसमा तत्काल प्रतिक्रिया नजनाएको पाइयो।
"अब हामीले समुदायलाई पनि थप सचेत गराउनुपर्छ। हामी जुन भूगोलमा बस्छौँ त्यहाँ यस्ता विपत्ति आउन सक्छन् है भनेर पहिले नै सुसूचित गराउन सकियो भने समुदायहरूले आफ्ना व्यवहारमा सोहीअनुसारको परिवर्तन गर्लान्," भूगर्भविद् भाष्कर खतिवडाले भने।
"विज्ञानलाई समुदायसँग जोड्नुपर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।