तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जापान भूकम्प : मृतकको सङ्ख्या बढ्यो, चर्को गर्मीको सास्तीमा विस्थापित मानिसहरू
जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले मंगलवार देशको दक्षिणपश्चिम भागमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुने मानिसको सङ्ख्या ३० पुगेको जानकारी दिएकी छन्।
मङ्गलवार क्यूशू टापुको कुमामोतो प्रान्तमा म्याग्निट्यूड ६.८ को भूकम्प जाँदा घरहरू र विद्युत् प्रसारणलाइनमा ठूलो क्षति पुगेको छ। प्रभावित स्थानहरूमा उद्धारकर्ताहरू अझै पनि जीवित मानिस भेटिने आशमा खोजीकार्यमा खटेका छन्।
एउटा शपिङ सेन्टरको केही भाग भत्किँदा र त्यसको झन्डै एक घण्टापछि त्यहाँ विस्फोट हुँदा धेरै जनाको मृत्यु भएको थियो।
भूकम्पका कारण विस्थापित भएका हजारौँ मानिसहरूलाई अस्थायी शिविरमा राखिएको छ। तर प्रचण्ड गर्मीबाट उनीहरूलाई जोगाउन कठिन भएको अधिकारीहरूले बताएका छन्।
मौसम पूर्वानुमानका अनुसार आगामी दिनहरूमा उक्त प्रान्तमा तापमान ३९ डिग्री सेल्सिअससम्म पुग्न सक्ने छ। अधिकारीहरूले जीवित मानिसहरू र उद्धारकर्ताहरूलाई 'हीटस्ट्रोक' (लू) बाट जोगिनका लागि सतर्कता अपनाउन आग्रह गरेका छन्।
१०० वटाभन्दा बढी परकम्प
जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले बुधवार कुमामोतोमा ३०० वटा एअर कन्डिशनर पठाउने घोषणा गरेका थिए। तीमध्ये १५० वटा एसी अस्थायी शिविरहरूका लागि उपलब्ध गराइने छ।
बुधबारसम्म झन्डै ९,००० विस्थापित मानिसहरूलाई शिविरमा राखिएको थियो भने ३०,००० भन्दा बढी घरधुरीमा विद्युत् सेवा अवरुद्ध थियो।
कुमामोतोमा पहिलो भूकम्प गएपछि १०० भन्दा बढी परकम्प रेकर्ड गरिएको छ।
अझ शक्तिशाली भूकम्प जान सक्ने डरले धेरै मानिसहरू आफ्ना कारमा सुत्न थालेका छन्।
मङ्गलवारको भूकम्प जमिनमुनि केबल १० किलोमिटर तल उत्पन्न भएको हुनाले त्यसले धेरै क्षति पुर्याएको ठानिएको छ।
यात्सुशिरो नगरमा रेस्टुराँ सञ्चालन गर्ने ७५ वर्षीया हिरोको ओगाताले भूकम्प आउँदा आफू रेस्टुराँमा टेबलमुनि लुकेको र टेबलसँगै जोडले हल्लिएको बीबीसीलाई बताइन्।
"म यहाँ बसेको ७५ वर्ष भयो, तर मैले यति ठूलो भूकम्प कहिल्यै अनुभव गरेकी थिइनँ," उनले भनिन्। "मलाई त म अब मरेँ नै जस्तो लागेको थियो।"
खोजी र उद्धार जारी
खोजी तथा उद्धारकार्य जारी भएको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार त्यसका लागि हजारौँ सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।
उद्धारकर्ताहरू काशिमा नगरस्थित इओन शपिङ सेन्टरको भग्नावशेष पन्छाएर खोजी गर्दै छन्। उक्त मलको दोस्रो तलाको केही भाग भत्किएको थियो।
उक्त स्थान सबैभन्दा बढी प्रभावित भवनहरूमध्ये प्रमुख हो। पहिलो भूकम्प गएको झन्डै एक घण्टापछि त्यहाँ विस्फोट पनि भएको थियो।
विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ। तर त्यहाँ ग्यासका कारण विस्फोट भएको हुन सक्ने सम्भावना रहेको इओन शपिङ सेन्टरका अध्यक्षले बताएका छन्।
भूकम्पका बेला भागाभाग हुँदा सपिङ मलभित्रको एउटा 'क्याट क्याफे' मा छुटेका २५ वटा बिरालालाई सुरक्षित रूपमा उद्धार गरिएको क्याफेले बुधबार जनाएको छ।
इओन मल परिमार्जित शपिङ कम्प्लेक्सका रूपमा गत महिना मात्र पुनः सञ्चालनमा आएको थियो। यसअघि अप्रिल २०१६ मा आएको शक्तिशाली भूकम्पको शृङ्खलामा पनि त्यहाँ ठूलो क्षति पुगेको थियो। त्यस बेला त्यहाँ २७८ जनाको मृत्यु भएको थियो।
उद्धारकर्ताहरू यात्सुशिरो नगरमा अवस्थित निप्पोन कागज कारखानाको भग्नावशेषमा पनि खोजी गरिरहेका छन्।
भूकम्पका कारण उक्त कारखानाको केही भाग भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो।
भवनभित्र ११ जना फसेका थिए। तीमध्ये अहिलेसम्म सात जनाको सकुशल उद्धार गरिएको निप्पोन पेपरले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।