इरान युद्धका कारण कन्डमको मूल्य बढाउँदै विश्वको सबैभन्दा ठूलो उत्पादक कम्पनी

कन्डम देखाउँदै कारेक्स कम्पनीका प्रमुख गो मीआ किअट

तस्बिर स्रोत, Reuters

    • Author, अस्मन्ड चीआ
    • Role, व्यापार संवाददाता
  • पढ्ने समय: ३ मिनेट

कन्डम उत्पादन गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनी कारेक्सका प्रमुखले इरान युद्धका कारण कच्चा पदार्थको आपूर्ति अवरुद्ध भएकाले आफ्नो कम्पनीद्वारा उत्पादित सामानको मूल्य ३० प्रतिशत वा त्यसभन्दा बढीले बढ्ने बताएका छन्।

उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकारी गो मीआ किअटले सञ्चारमाध्यमलाई बताएअनुसार द्वन्द्व सुरु भएपछि कन्डमको उत्पादन लागत ह्वात्तै बढेको छ।

मलेशियामा आधारित यो कम्पनीले प्रतिवर्ष पाँच अर्ब वटाभन्दा बढी कन्डम उत्पादन गर्छ।

'ड्यूरेक्स' र ट्रोजनजस्ता ख्यातिप्राप्त ब्रान्डहरू तथा यूकेको एनएचएसजस्ता सरकारी स्वास्थ्य प्रणालीलाई पनि सोही कम्पनीले कन्डम आपूर्ति गर्छ।

उनले समाचारसंस्था रोएटर्स र ब्लूम्बर्गलाई दिएको अन्तर्वार्तामा कन्डमको सम्भावित मूल्यवृद्धिबारे टिप्पणी गरेका हुन्। बीबीसीले कारेक्ससँग सम्पर्क गरेको छ।

अमेरिका र इजरेलले इरानमाथि हवाई आक्रमण गरेपछि इरानले त्यसको प्रत्युत्तर दिँदै स्ट्रेअ अफ होर्मुज अवरुद्ध गरिदिँदा जलमार्गमार्फत् विश्वभरि हुने तेल आपूर्ति नराम्ररी प्रभावित भएको छ।

अहिले उक्त जलमार्ग लगभग बन्द छ। परिणामस्वरूप विश्वभरि सामान आपूर्तिको सञ्जाल पनि बिथोलिन पुगेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विश्‍वको सबैभन्दा ठूलो कन्डम उत्पादकद्वारा इरान युद्धका कारण मूल्यवृद्धिको घोषणा

सङ्कटका बेला कन्डमको चरम अभाव

सामान्यतया विश्वको कुल कच्चा तेल र एलएनजी भनिने तरलीकृत प्राकृतिक ग्यासको झन्डै २० प्रतिशत भाग तथा अन्य पेट्रोकेमिकलहरू उक्त जलमार्ग हुँदै निर्यात हुँदै आएको थियो।

कन्डम उत्पादन गर्ने कम्पनी तेलबाट उत्पादित पदार्थहरूमा निर्भर रहन्छ। कन्डम बनाउन प्रयोग गरिने ल्याटेक्सलाई बिग्रिन नदिन आवश्यक पर्ने अमोनिआ र सिलिकनमा आधारित लूब्रिकन्टहरू सबै पेट्रोलिअम पदार्थबाटै प्राप्त हुन्छन्।

गोका अनुसार यो वर्ष कन्डमको माग झन्डै ३० प्रतिशतले बढेको छ। उनले ढुवानी खर्च बढ्दा र समयमा ढुवानी हुन नसक्दा कन्डमको अभाव गहिरिएको बताए।

"सङ्कटका बेला कन्डम प्रयोग गर्नुपर्ने आवश्यकता झन् बढ्छ। किनभने तपाईँ आफ्नो भविष्यबारे, अर्को वर्ष जागिर जोगिन्छ कि जोगिँदैन भनेर निर्धक्क हुन सक्नुहुन्न," उनले ब्लूम्बर्गसँग भने।

"अहिले अर्को बच्चा जन्मियो भने थप एक जनालाई पाल्नुपर्ने अवस्था आउँछ," उनले भने।

अरू क्षेत्रमा पनि अभाव र महँगी

अमेरिका-इजरेल र इरानबीचको युद्धका कारण विश्वको ऊर्जा बजार प्रभावित भइसकेको छ। अहिले पेट्रोलियमको मूल्यमा भएको वृद्धिबाट अन्य वस्तुहरू पनि महँगिन थालेका छन्।

इरान युद्धका कारण विश्वभरि हवाई भाडा बढेको छ। नयाँ अनुसन्धानले देखाएअनुसार सबैभन्दा सस्तो हवाई टिकटको औसत मूल्य एक वर्षअघिको तुलनामा २४ प्रतिशतले बढेको छ।

खाडी क्षेत्र हुँदै पानीजहाजबाट हुने सामान ढुवानी अवरुद्ध हुँदा रासायनिक मलको मूल्य बढेको छ र कम्प्युटर चिप बनाउन प्रयोग हुने 'हिलिअम'को अभाव देखा परेको छ।

कच्चा पदार्थको अभावका कारण बोतलबन्द पानी उत्पादन गर्ने उद्योगहरू पनि दबावमा परेका छन्।

एप्रिल महिनाको सुरुतिर संयुक्त राष्ट्रसङ्घले ढुवानी खर्च बढ्दा चिनी, दुग्धजन्य पदार्थ र फलफूलको मूल्य बढ्ने चेतावनी दिएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वार्तामा प्रगति हात नपरेसम्म दुवै देशबीचको युद्धविरामको अवधि बढाउने बताएपछि अमेरिका र इरानबीचको शान्तिवार्ताको स्थिति बुधवार पनि अस्पष्ट नै रहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।