काठमाण्डूमा ओर्लिन नसक्दा अन्तर्राष्ट्रिय विमानहरू किन भैरहवा र पोखरा जाँदैनन्

तस्बिर स्रोत, RSS
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ४ मिनेट
आइतवार अपराह्ण काठमाण्डूमा असिनापानी पर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि तीनवटा अन्तर्राष्ट्रिय विमान देशबाहिर 'डाइभर्ट' भए।
विमानस्थल कार्यालयका अनुसार काठमाण्डूको मौसम प्रतिकूल हुँदा टर्किश एअरलाइन्स, एअर चाइना र सिचुवान एअरको विमान भारत र चीनका विमानस्थलतर्फ फर्किएका थिए। टर्किश एअरको विमान दिल्लीतिर गएको थियो भने एअर चाइना ल्हासा र सिचुआन एअर छेन्दू फर्किएका थिए।
विमानस्थलको सञ्चालन कक्षका अनुसार ती तीनवटै विमान नेपालको 'फ्लाइङ इन्फर्मेशन' अर्थात् हवाई क्षेत्रमा आएर केही समय 'होल्ड' भएपश्चात् 'डाइभर्ट' भएका थिए।
यसअघि पनि कैयौँ पटक काठमाण्डू आइसकेका अन्तर्राष्ट्रिय विमानहरू डाइभर्ट हुँदा भारतको कोलकाता, लखनऊ वा दिल्लीसहितका विमानस्थल पुगेका उदाहरणहरू छन्। गत वर्ष कात्तिकमा पनि त्रिभुवन विमानस्थलको धावनमार्गको लाइट प्रणालीमा समस्या हुँदा नजिकै आइपुगेका विमानहरू भारततर्फ मोडिन बाध्य भएका थिए।
निकै कम सङ्ख्यामा मात्रै काठमाण्डूबाट डाइभर्ट भएका अन्तर्राष्ट्रिय विमानहरू भैरहवा र पोखरा पुग्ने गरेको उड्डयन क्षेत्रका जानकारहरूले बताएका छन्। नेपालमै तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै किन काठमाण्डूनजिकै पुगिसकेर पनि विमानहरू छिमेकी देशतिर मोडिन्छन् त?
नेपालका अरू विमानस्थल रोजाइमा नपर्नुका कारण

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख टेकनाथ सिटौलाले नेपाली आकाशमा आइपुगेर डाइभर्ट हुने स्थितिमा अरू नेपाली विमानस्थल रोजाइमा पर्ने नगरेको बताउँछन्।
"डाइभर्ट गर्नुपर्ने अवस्थामा कुन विमानस्थल जाने भन्ने कुरा प्रत्येक विमानहरूको उडान योजनामै हुन्छ," विमानस्थल प्रमुख सिटौला भन्छन्।
"वायुसेवाले आफ्नो ट्रङ्क रूटमा पर्ने विमानस्थललाई मात्रै यस्तो अवस्थाका लागि वैकल्पिक अवतरणस्थल तय गरेका हुन्छन्।"
काठमाण्डूबाट डाइभर्ट हुने विमानहरूले होटेल सुविधासँगै सुरक्षाको पाटो पनि ध्यानमा राखेर अवतरण गर्ने वैकल्पिक विमानस्थलको पूर्वसूची तयारी गर्ने २० वर्षसम्म एअर ट्राफिकको अनुभव बटुलेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वमहाप्रबन्धक देवेन्द्र केसी बताउँछन्।
"जहाज कहाँ जाने भन्दा उसले सबैभन्दा सुरक्षित ठाउँ खोज्छ। त्यसमा पाइलटले पनि नजिकैकोलाई खोज्नु इन्धन, समय सबै हिसाबले उपयुक्त हुन्छ। त्यसले खर्च पनि बच्छ," केसी भन्छन्।
"किन पोखरा र भैरहवा गएनन् त भन्दा पोखराको विमानस्थलमा ठूलाठूला विमानहरूका लागि बनाइएकै होइन। भैरहवा अलिकति खुला ठाउँ छ भन्ने हाम्रो बुझाइ छ। तर त्यहाँ ती जहाजका यात्रुहरूलाई एकैपटक राख्न सकिने ठाउँ छ कि छैन र त्यहाँको पनि मौसम उपयुक्त छ कि छैन? यी कुराहरू पनि हेरिन्छ।"
डाइभर्ट भएर जाने विमानले कस्तो ठाउँ रोज्छन्

गन्तव्य विमानस्थलमा अवतरण गर्न लाग्दा समस्या उत्पन्न हुँदा वा प्राविधिक वा मानवीय कारण अर्को विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्थामा सकेसम्म विमानहरूले त्यो प्रकारको विमानको परीक्षण उडान नभएका विमानस्थलमा अवतरण नगर्ने एअर ट्राफिक कन्ट्रोलरका अनुभवी केसी बताउँछन्।
सञ्चालनमा आएको केही वर्ष मात्रै भएका भैरहवाको गौतम बुद्ध र पोखरा विमानस्थलमा निकै कम अन्तर्राष्ट्रिय विमानहरूले मात्रै परीक्षण वा नियमित उडान गरेका छन्।
भैरहवामा नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरवेज, थाई एअर, जजीरा एअर, फ्लाइ दुबई र एअर चाइनाको विमान अवतरण गरिसकेका छन्।
पोखरामा सिचुवान एअर र हिमालय एअरलाइन्सले चार्टड उडान गरिरहेका छन्।
गएको भदौमा ल्हासाबाट काठमाण्डू आउँदै गरेको हिमालय एअरलाइन्सको विमान डाइभर्ट भएर पोखरा अवतरण भएको थियो। त्यस्तै भैरहवामा पनि बाटिक एअर, मलिन्डो एअर र हिमालय एअरसहितका विमानले डाइभर्ट भएर अवतरण गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख श्यामकिशोर साहले बताए।
"ती प्रकारका जहाजको परीक्षण उडान भएको छ कि छैन। त्यहाँ पाइलटले खोज्ने प्राविधिक पक्षहरूको सुनिश्चितता भएपछि मात्रै जाने हो," पूर्वमहानिर्देशक केसी भन्छन्।
वायुसेवा कम्पनीहरूले आफ्ना विमानहरूको नियमित उडान हुने विमानस्थलमा यात्रुहरूको व्यवस्थापन सहज हुने भएका कारण पनि भारतीय विमानस्थलहरू रोज्ने गरेको हुन सक्ने त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक सिटौलाले बताए।
"काठमाण्डूबाट डाइभर्ट हुने अवस्थाका लागि भैरहवा उत्तम विकल्प हो। समथर भएका कारण उडान अवतरणको समस्या पनि यहाँ छैन। तर हामीले त्यो कुरा वायुसेवा कम्पनीहरूलाई बुझाउन पो सकिरहेका छैनौँ कि?" सिटौला भन्छन्।
नेपाल वायुसेवा निगमले हालैबाट डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवाको गौतम बुद्ध विमानस्थललाई प्राथमिकतामा राख्ने निर्णय गरेको अधिकारीहरूले बताएका थिए।
भैरहवा र पोखरामा कस्तो सुविधा छ

तस्बिर स्रोत, RSS
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख श्यामकिशोर साह भैरहवा विमानस्थलमा पाँचवटा विमान राख्न सकिने ठाउँ रहेको बताउँछन्।
"हामीकहाँ होटेलमा राख्ने ठाउँदेखि अन्य सहायता आवश्यक भए सबै सुविधा छन्। भैरहवादेखि बुटवलसम्म १,००० जनालाई राख्न सकिने गुणस्तरका होटेलहरू पनि छन्। तर विमानहरूले आफूहरूसँग सम्पर्क भएका र कारोबार भएका होटेलहरू मात्रै रोज्ने गर्छन्," उनले भने।
"हाम्रो विमानस्थलको क्षमता नभएर वा कमजोरी भएरभन्दा पनि यहाँका पूर्वाधारसँग वायुसेवा कम्पनीहरू परिचित नभएर पनि डाइभर्ट आउने विमानहरू खासै नभएको हुन सक्छ।"
त्रिभुवन विमानस्थलका पूर्वप्रमुख केसी हाम्रो विमानस्थलको प्रचार र अन्तर्राष्ट्रिय वायुसेवासँगको समन्वय कमजोर भएको बताउँछन्।
"भारतमा वायुसेवाको ठूलो 'चेन' हुन्छ। यहाँ सीमित कुराहरू छन्। भैरहवा र पोखरा दुवै एअरपोर्टहरू राम्रोसँग सञ्चालन भएका भए हाम्रोमा पनि त्यो सबै सुविधा उपलब्ध हुन्थ्यो होला," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















