अमेरिका र क्यानडामा फुटबललाई किन 'सकर' भनिन्छ?

तस्बिर स्रोत, Getty Images
- Author, मार्गरिटा रोड्रिगेज
- Role, बीबीसी न्यूज मुन्डो
- Published
- पढ्ने समय: ४ मिनेट
विश्वभरका लाखौँ फ्यानहरूका लागि फुटबल जीवनजस्तै महत्त्वपूर्ण हो तर जारी विश्वकपका दुई सहआयोजक राष्ट्रमा फुटबल अलग्गै नामले चिनिन्छ।
अमेरिका र क्यानडामा फुटबललाई 'सकर' भनिन्छ। तर किन?
अनि त्यो शब्दले अरू फुटबलप्रेमी देशहरूलाई दिक्क पार्छ?
"जब म इङ्ग्ल्यान्डमा बच्चा नै थिएँ, 'सकर' शब्द सहजै स्वीकार्य थियो," स्टेफान सिमान्स्की भन्छन्।
यूनिभर्सिटी अफ मिशिगनका इमेरिटस प्रोफेसर रहेका उनी सन् १९६० र सन् १९७० को दशकमा हुर्किएका थिए। उनी 'फुटबल' तथा 'सकर'लाई लिएर हुने बहस आफूलाई अनौठो लागेको बताउँछन्।
"मैले आफ्ना साथीहरूलाई सोध्न थालेँ : 'के तिमी सम्झन्छौ? सायद यो झुट्टो याद हो। के वास्तवमै समस्या थियो?' मैले मानिसहरूसँग यसबारे कुराकानी गर्न थालेँ र सन् १९७० को दशकमा यो शब्दलाई लिएर खासै विवाद थिएन।"
सिमान्स्कीको रुचि अनुसन्धानमा बदलियो।
उनका अनुसार सुरुवाती दिनमा फुटबल ज्यादै 'सभ्रान्तहरू'को खेल थियो।
"सन् १८६३ मा फुटबल असोसिएशन इन इङ्ग्ल्यान्डको स्थापना गर्नेहरू अक्स्फोर्डका ग्र्याजुएटहरू थिए, जसले सभ्रान्तहरू अध्ययन गर्ने सार्वजनिक विद्यालयमा पढेका थिए।"
फुटबल असोसिएशनको नियमअन्तर्गत खेलाइएको खेल 'असोसिएशन फुटबल' बन्न पुगेको 'इन्साइक्लपीडिआ ब्रिटानिका'मा जन एम कनिङ्गमले भनेका छन्। उक्त नामले त्यसलाई अर्को लोकप्रिय खेल रग्बीभन्दा पृथक् देखाउन सघायो।
"त्यस बेला दुईवटा खेलहरू थिए। एउटालाई रग्बी फुटबल भनिन्थ्यो भने अर्कोलाई असोसिएशन फुटबल भनिन्थ्यो," सिमान्स्की थप्छन्।
'ब्रेकर', 'रगर', 'सकर'
सन् १८८० र सन् १८९० का धनी विश्वविद्यालयका विद्यार्थीहरूमाझ शब्दलाई छोटो पार्ने र त्यसलाई जनजिब्रोको बनाउने हिसाबमा 'अर' (er) जोड्ने प्रवृत्ति थियो।
"त्यही भएर 'ब्रेकफ्रास्ट' (बिहानीको खाजा) भन्नुपर्यो भने उनीहरू ब्रेकर भन्ने गर्थे।"
रग्बीलाई उनीहरू 'रगर' भन्थे।
उसो भए 'सकर' शब्द कसरी उत्पन्न भयो?
त्यसको पछाडि एउटा सिद्धान्त छ। तर सिमान्स्की त्यो नै वास्तविकता हो 'भन्नेमा कोही पनि पूर्ण रूपमा ढुक्क नरहेको' बताउँछन्।
नयाँनयाँ प्रयोग गर्ने भनिएका यी विद्यार्थीहरूले 'असोसिएशन' शब्दको बीचबाट 'एसओसी' (soc) र त्यसपछि 'ईआर' (er) जोडे जहाँबाट 'सकर' जन्मियो।
"स्पष्ट रूपमा, ठ्याक्कै कसरी कसैलाई थाहा छैन तर मानिसहरू केमा लगभग सहमत छन् भने यो अक्स्फोर्डबाट आएको हो। कैयौँ दस्ताबेजमा आधारित स्रोतहरू छन्, जसले त्यहीँकै विद्यार्थीहरूबाट यो शब्द उत्पत्ति भएको हो भन्ने देखाउँछ।"
त्यसपछि सकर क्यानडा, अमेरिका र अन्यत्र फैलियो

तस्बिर स्रोत, Getty Images
खेल इतिहासकार एन्डी मिचेल सन् १८८५ को अन्त्यमा इङ्ग्ल्यान्डका विभिन्न भागका विद्यालयका म्यागजीनहरूमा 'सकर' (soccer) र 'सोकर' (socker) उल्लेख भएका 'कम्तीमा' तीन वटा उदाहरण फेला परेको जनाउँछन्।
"मेरो अनुमान के हो भने 'सकर' र 'रगर' पहिला पनि मौखिक रूपमा प्रयोग भएका थिए र त्यस वर्ष (१९८५) को प्रारम्भमा अर्को पहिचान नखुलेको प्रकाशनमा छापिएको थियो," मिचेलले स्कटिश स्पोर्ट ब्लग हिस्ट्रीमा लेखेका छन्।
समयक्रममा "सोकर"को प्रयोग हट्यो तर 'सकर' भने चल्तीमा नै रह्यो। फुटबल खेल अन्य महादेशहरूमा फैलिरहँदा उक्त शब्द पनि विस्तार हुन पुग्यो। अहिले 'सकर' अस्ट्रेलिया, न्यूजील्यान्ड, साउथ अफ्रिका र क्यानडासहितका देशमा प्रयोग गरिन्छ।
संयुक्त राज्य अमेरिकामा 'फुटबल' भन्नाले अमेरिकन फुटबल बुझिन्छ।
"यो सबै अन्तरसम्बन्धित छ," सीमान्स्की भन्छन्। "अमेरिकी अवधारणा रग्बीबाट विकास भयो तर त्यसमा सकरको पनि अंश छ।"
"उनीहरू नजिकका आफन्तजस्तै हुन्, अनि त्यही भएर सन् १८८० र सन् १८९० को दशकमा 'सकर' शब्द प्रयोगमा आएको समयमा नै अमेरिकी फुटबल लोकप्रिय बन्यो।"
सिमान्स्की र उनकी सहकर्मी जिल्का मारिआ विनेकका अनुसार ब्रिटेनका समाचारपत्रहरूले 'फुटबल' शब्द नै प्रयोग गर्न रुचाए तर उनीहरूले सन् १९८० को दशकसम्म 'सकर' शब्द पनि प्रयोग गरिरहेका थिए।
अनि समयक्रमसँगै "फुटबल" शब्द नै प्रयोग हुँदै गयो।
सिमान्स्कीका अनुसार विश्वविद्यालयमा पढाउँदा यी दुई शब्दको प्रसङ्ग आउने गर्छ। "अमेरिकीहरूले प्रायः सकर शब्द प्रयोग गर्दा माफी माग्ने गर्छन् र 'माफ गर्नुहोस्, मेरो मतलब फुटबल थियो भनेर भन्छन्,' किनकि उनीहरूलाई ब्रिटिशहरू यस विषयमा संवेदनशील हुन्छन् भन्ने लाग्छ।
'अनि उनीहरू ठिक पनि छन् किनकि केही ब्रिटिशहरू वास्तवमै त्यस्ता हुन्छन्।
'उनीहरूले माफी माग्नु निकै शिष्ट व्यवहार हो जस्तो मलाई लाग्छ, तर म उनीहरूलाई भन्छु, 'यो अङ्ग्रेजी शब्द हो, निर्धक्क भएर प्रयोग गर्नुहोस्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















