धवलशमशेर राणा र दुर्गा प्रसाईबाट 'राजसंस्थावादी रास्वपाको अनावरण' कति सम्भव

तस्बिर स्रोत, Nepal Photo Library/Durga Prasai/FB
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
"नफर्किने गरी" राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निस्किएको बताउने नेता धवलशमशेर राणाले दुर्गा प्रसाईसँग मिलेर नयाँ पार्टी बनाउने निधो गरेका छन्।
धेरैलाई लागिरहेको छ त्यो नयाँ दलको भविष्य कस्तो होला? स्वयम् धवलशमशेर राणा भने 'यस्तोउस्तो होला' भन्ने दाबी गर्दैनन्।
"हामी जनता, देश र हाम्रो मुद्दाप्रति बफादार र इमानदार रहने छौँ," उनी भन्छन्।
नेता राणा राजसंस्था पुनर्स्थापनाको मुद्दा स्थापित गर्न राप्रपाबाट अब सम्भव नरहेको निचोडमा पुगेका छन् र नेतृत्वको कार्यशैलीलाई त्यसको कारक ठान्छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने "पार्टीभन्दा बाहिरका मानिसहरूसँग लागेर राजसंस्था पुनर्स्थापनाको मुद्दा तुहाउन" काम राणाले गरेको आरोप लगाए। "त्यस विषयमा भविष्यमा मूल्याङ्कन हुने नै छ।"
उनको सङ्केत दुई जनाको ज्यान जाने गरी काठमाण्डूको तिनकुनेमा गत २०८१ साल चैत १५ गते भएको घटनातर्फ थियो।
राजावादी शक्तिहरूको प्रदर्शनमा हिंसा भड्किएको उक्त घटनालाई लिएर सरकारले राणा र प्रसाईका साथै रवीन्द्र मिश्रलाई गिरफ्तार गरेर गम्भीर अभियोगसहित मुद्दा चलाएको छ।
राजसंस्थावादीको नयाँ अवतार

राणा र प्रसाईका पछिल्ला गतिविधिबारे मिश्र मौन छन्। राणा र प्रसाई भने नयाँ दल बनाउन अघि बढेका छन्।
राप्रपा अध्यक्षबाट निष्कासनमा परेका पूर्वउपाध्यक्ष मुकुन्दश्याम गिरीका भनाइमा पार्टी नेतृत्वको कार्यशैलीका कारण "करिबकरिब दुर्घटनामा परेको र किनारामा पुर्याइएको विचार र सैद्धान्तिक अवधारणालाई बोक्नुपर्ने दायित्व निर्वाह गर्न" नयाँ पार्टी बनाउने खाँचो परेको हो।
तर विचार उही, सिद्धान्त उही, दुवै पार्टीको नेतृत्वमा उस्तै मिल्दाजुल्दा अनुहार-- मतदातालाई के कुराले आकर्षित गर्ला?
नेता गिरीका अनुसार आवश्यकता र क्षमताका आधारमा पार्टीले जिम्मेवारी दिने छ। "हामीजस्ता नेताहरू सकेसम्म पदाधिकारी तहमा नबस्ने, ६० प्रतिशत महिला र युवालाई पार्टीको अग्रमोर्चामा राख्ने तयारी छ," उनले भने, "हामी त सहयोगीको रूपमा रहनुपर्छ भन्ने अहिलेसम्मको मानसिकता छ।"
युवा नेता रञ्जन कार्कीका अनुसार राणा पार्टी अध्यक्ष र प्रसाई वरिष्ठ नेता हुने छन्।
अहिले प्रधानमन्त्री बनेका वालेन्द्र शाह 'बालेन' चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेताको हैसियतमा सभापति रवि लामिछानेसँग सहकार्यमा जोडिएका हुन्।
"राप्रपा भन्नेबित्तिकै पूर्वपञ्चहरूको विरासत बोकेको भन्ने बुझाइ थियो, हामी सम्पूर्ण रूपमा पुनर्संरचना गर्दै छौँ," कार्की भन्छन्, "हरेक तहको समितिमा ६० प्रतिशत सहभागिता सुनिश्चित गर्दै युवा र महिलामुखी अनि प्रविधिमैत्री पार्टी बनाउँदै छौँ।"
रास्वपाको विकल्प बन्ने 'धाक'?

रास्वपा गठन हुँदा उसका नेताका अनुहार पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको नेतृत्व भागमा लामो समयदेखि रहेका पुराना अनुहार देखिरहेकाहरूका धेरैका निम्ति नौला देखिए।
समिति र दलका संरचनामा व्यवसाय, विज्ञता र उमेरसहित क्षेत्रगत विविधता पनि समेटेको पाइयो।
के राणा र प्रसाईले गठन गर्ने भनेको दल 'राजसंस्थावादीको रास्वपा अवतार' जस्तै बन्न खोज्दै हो?
नेता मुकुन्दश्याम गिरी रास्वपाले मुलुकलाई गति दिन सकोस् भन्ने आफूहरूको शुभेच्छा रहेको सुनाउँदै जाँदा आन्तरिक लक्ष्य लुकाएनन्।
"तर रास्वपाले सम्पूर्ण परिस्थितिलाई डोर्याउन सक्छ भन्ने प्रश्न उठ्न थालेको छ, त्यसले गर्दा एउटा वैकल्पिक राजनीति शक्तिको आवश्यकता पर्न सक्ने देखिन थालेको छ," कांग्रेस र एमालेतर्फ जनता नफर्किने र राप्रपाले त्यो खाँचो पूर्ति गर्न नसक्ने ठम्याइ सुनाउँदै नेता गिरी भन्छन्, "त्यसैले देशलाई अघि बढाउन रास्वपाको विकल्पका रूपमा आफूलाई उभ्याउने गरी हामी धेरै कुरामा परिवर्तन गरेर आउँदै छौँ।"

तस्बिर स्रोत, Getty Images
युवा नेता कार्की दक्षिणपन्थी राजनीतिक शक्तिको ठाउँ खाली रहेको र त्यो आफूहरूको नयाँ दलले पूर्ति गर्ने गरी रास्वपाको "झल्को दिने" राजसंस्थावादी दल बनाउने बताउँछन्।
"अहिले गणतन्त्रवादीहरूको हिमायती र ठूलो पार्टी रास्वपा छ, त्यसलाई चुनौती दिने राष्ट्रवादी दक्षिणपन्थी पार्टी निर्माण हुँदै छ," उनको भनाइ छ, "धर्म, संस्कृति, इतिहासको संरक्षण गर्दै राजसंस्था सहितको प्रजातन्त्रको उदय यही पार्टीबाट गराउने हाम्रो लक्ष्य छ।"
राजनीतिक भविष्य र जोखिम

तस्बिर स्रोत, Getty Images
कतिपय मानिसहरूका निम्ति त्यो कुरा राजनीतिक महत्त्वाकाङ्क्षा मात्र लाग्न सक्छ। स्वयम् राणा भन्छन्, "हामी अधिकतम प्रयास गर्ने छौँ, नेपाली जनताले पत्याएर पछ्याए भविष्य राम्रो होला, नत्र हुँदैन।"
राप्रपा नेता राजाराम बर्तौलाका नजरमा नयाँ दलको नेतृत्व गर्न अग्रसर राणा आफैँमा स्वच्छ छन्, छलछाम गर्ने, मनमा पाप भएको अनि बिगार्ने-भत्काउने नेता होइनन्, तर उनमा राजनीतिक स्थिरताको सर्वथा अभाव देखिन्छ।
"एउटा शुभेच्छुकको नाताले दुर्गा प्रसाईसँग उहाँको सहकार्य कति लामो र व्यवस्थित हुन्छ भन्ने चिन्ता छ," बर्तौला भन्छन्, "उहाँहरूबीचको सम्बन्धको उतारचढावले धेरै अर्थ राख्ने देख्छु।"
नयाँ दलले राजसंस्था र हिन्दुवादी 'भोटब्याङ्क'मा जोडदार हस्तक्षेप गर्न सक्ने सम्भावना भने उनी अस्वीकार गर्दैनन्।
"मान्छेले नयाँ स्वाद खोजिरहेको हुन्छ, तर उहाँहरूले कति क्लिक गर्न सक्नुहुन्छ त्यसमा भर पर्छ," उनी भन्छन्, "दुर्गा प्रसाईको एक खालको क्रेज पनि छ, भुईँमान्छेका कुरा उठाएर अग्रणी शक्ति बन्न पनि सक्छ।"
रास्वपाप्रति देखिएको बढ्दो आकर्षणका बीच चुनावअघि कतिपय 'परिचित र नाम चलेका' नेताले नयाँ शक्ति बनाउने जमर्को नगरेका होइनन्।
तर ती प्रयास मतपेटिकाबाट कतै उदाउन सकेनन्।
पछिल्ला दिनहरूमा त्यसका निम्ति अग्रसरता लिएका नेताहरू अलगथलग भएको देखिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















